बिजय चौहान
वीरगन्ज, ५ साउन । ट्राफिक नियम उलंघन गर्ने सवारी चालकलाई कार्यवाही गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले एक वर्षमा करिब अढाई करोड रुपैया राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७३/०७४ को साउन देखी असार सम्ममा सवारी नियम पालना नगर्ने ३९ हजार ८०२ वटा सवारी चालक तथा धनीलाई कार्यवाही गर्दै ट्राफिक प्रहरी कार्यालयले दुई करोड ४३ लाख १९ हजार पाँच सय रुपैयाँ जरिवान असुल गरेको हो ।
पर्सामा सबै भन्दा बढी ट्रक तथा मोटरसाईक चालकले ट्राफिक नियम उलंघन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रविन्द्र भट्टले जानकारी दिनुभयो । उहाँले गत आर्थिक वर्षमा ट्राफिक नियम उलंघन गर्ने २३ हजार ४ सय ५२ वटा ट्रकका चालकबाट एक करोड ३५ लाख ३७ हजार पाँच सय र ७ हजार ९६५ मोटरसाइकल चालकलाई कार्यवाही गरी ५४ लाख ५७ हजार पाँच सय रुपैयाँ जरिवान असुल गरेको बताउनु भयो ।
त्यसतै ट्राफिक निमय उलंघन गर्ने एक हजार ४२० बस, एक हजार ३२९ वटा जिप कार, दुई हजार ५३१ ट्याक्टर र ३ हजार ७५ वटा टेम्पो चालकलाई कार्यवाही गरिएको निरीक्षक भट्टले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७२/०७३ को तुलनामा आर्थिक वर्ष २०७३/०७४ मा ट्राफिक नियम उलंघनमा वृद्धी भएको जिल्ला ट्राफिक प्रहरी कर्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२/०७३ मा २१ हजार २९ वटा सवारी साधनका चालक तथा धनीलाई कार्यवाही गर्दै एक करोड १९ लाख ५३ हजार ८५० रुपैया जरिवान असुल भएको थियो भने गत आर्थिक वर्षमा समिक्षा अवधीको तुलनामा १८ हजार ७७३ वटा बढी सवारी साधनलाई कार्यवाही गर्दै एक करोड २३ लाख ६५ हजार ६५० रुपैयाँ बढी जरिवाना असुल भएको निरीक्षक भट्टले जानकारी दिनुभयो ।
उहाँले ट्राफिक नियम उलंघन गर्ने सवारी चालकलाई जरिवाना मात्र नगरी ट्राफिक नियम वारे चेतना वृद्धि गर्न एक घण्टाको कक्षा समेतमा सहभागि गराउने गरेको बताउनु भयो ।