बिजय चौहान
वीरगन्ज, ५ साउन । वीरगन्ज महानगरपालिकाले एक वर्षमा १८ करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७३/०७४ को साउन देखी असारसम्मको १२ महिनामा महानरपालिकाले १८ करोड १९ लाख ६१ हजार एक सय ५० रुपैया राजश्व सङ्कलन गरेको हो ।
२६ हजार ८८ जना कर दाताबाट विभिन्न शिर्षकमा महानगरपालिका उक्त कर सङ्कलन गरेको हो ।
महानगरपालिकाले गत आर्थिक वर्षमा सङकलन गरेको राजश्व समिक्षा अवधिको तुलनामा ३५ प्रतिशत बढी रहेको महानगरपालिकाको राजश्व शाखाका प्रमुख मनोज कर्णले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०७२/०७३ मा महानगरपालिकाले नगरवासीलाई प्रदान गरेका विभिन्न सेवा सुविधा वापत १३ करोड ५५ लाख १४ हजार ६ सय रुपैयाँ राजश्व सङकलन गरेको तुलनामा गत आर्थिक वर्षमा ४ करोड ६४ लाख ४६ हजार ५५० रुपैया बढी अर्थात ३४.२७ प्रतिशत बढी राजश्व सङ्कलन भएको बताउनु भयो ।
३५ हजार घर धुरी र तीन लाख भन्दा बढी जनसंख्या रहेको वीरगन्ज महानगरपालिकामा बसोवास गर्ने तथा कारोवार गर्नेहरुबाट महानगरपालिकाले सम्पत्ति कर शिर्षकमा ५ करोड २४ लाख ४३ हजार ५३० रुपैयाँ, नक्सा पास दस्तुर शिर्षकमा दुई करोड २१ लाख ५८ हजार ३२० रुपैयाँ, नक्सा जरिवाना शिर्षकमा ५१ लाख १५ हजार ६११ रुपैयाँ , पटके सवारी कर शिर्षकमा दुई करोड ६१ लाख ४८ हजार ११८ रुपैया, सवारी दर्ता तथा वार्षिक सवारी कर शिर्षकमा एक करोड १२ लाख ८६ हजार ४५० रुपैयाँ, व्यवसाय कर शिर्षकमा ७४ लाख ७४ हजार ८६० रुपैयाँ, घर जग्गा कर शिर्षकमा ४४ लाख १८ हजार ७८३ रुपैयाँ, हाटबजार पिठीयाँ कर शिर्षकमा २८ लाख ७५ हजार ९६४ रुपैयाँ, मालपोत तथा भुमि कर शिर्षकमा २२ लाख ७१ हजार १५४ रुपैया, बहाल कर शिर्षकमा २२ लाख २५ हजार ८८७ रुपैयाँ, सवारी पार्कि· शिर्षकमा चार लाख ५ हजार ७५१ रुपैया संकलन गरेको शाखा प्रमुख कर्णले जानकारी दिनुभयो ।