बिजय चौहान
वीरगन्ज, साउन । वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि एक वर्षमा भारतबाट ६५ अर्ब ५१ करोडको पेट्रोलिय पदार्थको आयात भएको छ । आर्थिक वर्ष २०७३/०७४ को साउन देखी असार सम्मको १२ महिनामा वीरगन्ज नाका प्रयोग गरी ६५ अर्ब ५१ करोड४३ लाख मुल्यको इन्धन आयात भएको हो ।
नेपालको मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगन्ज नाकाबाट गत आर्थिक वर्षमा ११ लाख ३२ हजार २१ केएल इन्धन र एक लाख ८२ हजार ६४ मैट्रिक टन खाना पकाउने एलपिजी ग्याँस आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
वीरगन्ज नाका प्रयोग गरी भारतको रक्सौल,बरौनिबाट आयात भएका डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र भारत कै हल्दिया तथा मथुराबाट आयात गरिएको खाना पकाउने ग्यासबाट १५ अर्ब ८ करोड एक लाख रुपैया राजश्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०७२/०७३ मा वीरगन्ज नाका प्रयोग गरी २९ अर्ब ७८ करोड ५८ लाख रुपैया मूल्यको ५ लाख ३३ हजार ९८ केएल पट्रोलिय पदार्थ तथा ९७ हजार ७५२ मैट्रिक टन खाना पकाउने ग्यास आयात भएको बताउनु भयो ।
आर्थिक वर्ष २०७२/०७३ को साउन देखी असार सम्मको १२ महिनामा वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि आयात भएका पट्रोलिय पदार्थबाट ७ अर्ब ६ करोड ९९ लाख रुपैयाँ राजश्व संकलन भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो ।