२८ साउन । लगातारको वर्षापछि तराई मधेसमा बाढी र पहिरोले वितण्डा मच्चाएको छ । देशका विभिन्न भागमा गरी बाढी र पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने हजारौं प्रभावित भएका छन् ।
गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर सुनसरीमा ७, झापामा ४, मोरङमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी ३० जनाको मृत्यु भएको छ ।
कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको बाढी पूर्वामानुमान महाशाखाले जनाएको छ ।
नदीहरुमा आएको बाढी गाउँ पस्दा झापा, मोरङ सुनसरी, सप्तरी, रौतहट, सल्लाही, दाङ, बाँके सहितका जिल्लाका बस्तीहरु डुवानमा परेका छन् । बाढी पूर्वानुमान शाखाले तराई मधेसका जिल्लाहरुमा डुबानको खतरा कायमै रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ ।
शाखाका अनुसार तराई क्षेत्रका नदीहरुमा अझै पनि बाढीको जोखिम उच्च छ । केही नदीमा जल सहत बढ्दो छ भने केहीमा खतराको तहभन्दा माथि पुगिसकेको छ ।