एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत प्रिमियर लिगमा यसै सिजन बढुवा भएको ब्राइटन एण्ड होभ आल्बिएनलाई २-०ले पराजित गर्दै म्यानचेस्टर सिटीले लिगमा विजयी सुरुवात गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सिटीले दुवै गोल दोश्रो हाफमा गरेको थियो।
दोश्रो हाफको ७०औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले डेविड सिल्भाले उपलब्ध गराएको बललाई सजिलै गोलमा परिणत गरेका थिए।
त्यसको ५ मिनेट नबित्दै सिटीले आत्मघाती गोलको मद्दतले २ गोलको अग्रता लिन सफल रह्यो। फर्नान्डिन्होको क्रसमा ग्याब्रीयल जेससलाई हेडिङ गर्न रोक्न खोज्दा डिफेन्डर लेविस डंकले आफ्नै पोष्टमा गोल गरेका थिए।
यस जितसँगै उपाधिको लक्ष्य राखेको सिटीले महत्त्वपूर्ण तीन अंक हासिल गरेर सुखद सुरुवात गरेको छ। ब्राइटनले भने प्रिमियर लिगको पहिलो अंक जोड्न अर्को खेल कुर्नेछ।