राजनीतिक दलहरुको खेल मैदान बन्दै मधेश :- अजय कुमार सिंह

 

नेपालको एउटा गाउँमा एक जना बुढो को चार वटा सन्तान थियो । बुढोको शासन भनेको सबैमाथि बराबर थियो । चार जना भाईमा तीन जना अलि उच्छृंखल प्रवृतिका थिए भने एक जना शान्त र कसैले दिएपछि मात्र लिने खालका थिए । बुढो बाँचुन्जेल कुनै वस्तु हुँदा सबैलाई बराबर गरी लिने चलन बनाएका थिए । बुढोलाई षड्यन्त्रपूर्वक हत्या गरियो र हत्यारालाई प्रशासनले पत्ता लगाउन सकेन वा चाहेन । बुढो बितेपछि चारै दाजुभाईलाई प्रजातन्त्र प्राप्त भयो । प्रजातन्त्र प्राप्त भएपछि तिनै दाजुभाई जे भएपनि आपसमा बाँड्ने तर एउटालाई वाइपास गरेर हिंड्न थाले । सोझो तथा शान्त प्रवृतिका भाईले आफ्नो अधिकारका विषय वस्तुलाई उठाउन सुरू गरे तर पनि केही लागेन । ती तिनै भाई मिलेर एउटालाई बेला बेलामा बेसरी कुटपिट गरी घाईते बनाउन थाले । आखिरमा तिनै दाजुभाई गाणतन्त्र र लोकतन्त्र प्राप्त गरे तर आफ्नो भाईलाई अधिकार दिएन र धोखेबाज, विद्रोही र समाजलाई टुक्रयाउने प्रवृतिको हो भनि विभिन्न आरोपहरू लगाउन थाले र अन्तमा ती एक्लै भएका भाईले पनि आफ्नो अधिकार प्राप्तिका लागि समूह उपसमूह गठन गर्न थाले । तर तिनटै भाईहरू मिलेर समाजमा अराजकताको माहौल बनाउन थाले र फोहर राजनीति आफ्नो मधेश क्षेत्रमा स्थापना गरेर नै छाडे । ती बुढो चार वटै छोरा जस्तो आफ्नो देशको अवस्था भएको हो ।

आज मधेशमा ठूला वडा कोही छैन । ठूलाहरू साना हुन थालेका छन् र सानाहरू ठूला हुन थालेका छन् । मधेशमा आज फोहर राजनीतिका कारण अराजकता बढ्न थालेका छन् । मधेश जल्दै छन् । कोही पनि मधेशको आगोलाई निभाउनको सट्टा अझ त्यसमा घ्यू थप्ने काम गर्दैछन् । मधेशमा विभिन्न चरणका आन्दोलन भयो । मधेशको राजनीतिलाई कमजोर बनाउने प्रयास तीनदाजु भाईबाट हुँदै गयो । जेठो भाई कांग्रेसले पनि मधेश र मधेशीसँग छल गरेकै हो । माहिलो भाई नेकपा एमालेले तलाई केही दिन्न जे गर्न सक्छस् गर भनिरहे । बढी हल्ला गर्छस् भने टाउकोमा गोली हान्ने हाम्रो वानी हो भन्ने प्रवृत्ति देखाए । टाउको उडाई दिन्छौ भनेर धाक देखाउँदै छन् भने कान्छो भाई नेकपा माओवादी केन्द्रले फकाउने फुलाउने काम मा लागेका छन् ।

यो बेचारा सानो भाई राजपा निरीह र बेसहारा भएका छन् । कसले के दिने हो र आफ्नो खेतीलाई अगाडी बढाउने आशमा बसेका छन् । संविधान बन्यो, अधुरो बन्यो भनेर बुझ्नेहरूले आन्दोलन सुरूवात गरे, संविधानमा आफूलाई पाउनु पर्ने सुविधाहरू तिनटै दाजुभाईले राखे चौथो राजपाले केही पाएन । देश कानुनविहीन भएको छ, अराजकता बढेर गएको छ । मधेश अशान्त छ । कसले यसलाई व्यवस्थित गर्ने । गोली हानेर नै व्यवस्थित हुनेछ भने मधेशलाई पुरै सखाप गरि दिए पनि हुन्छ । देशको मधेश बाहेक अन्य भागमा सबभन्दा शान्त र विकास तर्फ अग्रसर भएको छ । तर मधेशलाई अशान्त, अराजकतातर्फ राष्ट्रले धकेलिरहेको छ ।

मधेशको राजनीतिक अवस्था, सामाजिक अवस्था, आर्थिक अवस्था, शैक्षिक अवस्था  सबै बर्बाद भएको छ । कही अनुशासन छैन, उदण्डता बढेर गएको छ । कोही कसैसँग कम छैनन् । कानुन कमजोर भएका छन् । यहाँका हरेक निकाय बिकाउ भैसकेको अवस्था छ । राम्रो दाम दिने व्यापारी हुनुपर्यो । यी सबै अराजकता नै हो । एक आपसमा मेलमिलाप छैन । सानो तिनो झैझगडा भयो कि अदालत वा प्रहरी प्रशासन समक्ष नतमस्तक हुन पुग्छन् । स्थानीय स्तरमा मेलमिलापकर्ताहरू बसेका छन् तर उनीहरूको आफैमा मेलमिलाप छैन भने अरूलाई के मेलमिलाप गराउन सक्छन् । प्रहरी प्रशासन वा अदालतमा पुगेर त भन्दा म बलियो भनेर सावित गर्न भ्याएसम्म खर्च गर्न पछि पर्दैन र कुर्सीमा सजिएर बसेका राष्ट्र सेवकहरू  वाह वाह गरेर एक अर्काको मनोवललाई हावा दिएर हिम्मत बढाउदै आफ्नो मनोकामना पुरा गर्नमा व्यस्त हुन्छन् ।

एउटा मैथिलीमा कहावत छ कि “लटकले बेटा त गेलै बेटा” त्यस्तै यहाँ एकपटक फस्यो त्यो सदाका लागि फस्दै जान्छन्, अवस्था यस्तो भएको छ । आज एकले अर्कामाथि विश्वास गर्न छाडिसकेका छन् । सर्वसाधारणको कुनै निकायमा पहुँच छैन र विचोलियाहरूले पहुँच बनाउन दिइरहेका छैनन् । दलितका लागि आएका बजेट कुनै एक दलितले आफ्नो खल्तीमा हाली करोडपति भएका छन् । कुनै दलितका नेता दलित कोटाबाट मन्त्री भएर अरूका श्रीमतिलाई आफ्नो श्रीमति बनाउनमा व्यस्त भएका छन् । पिछडावर्गका लागि आएका बजेट डिक्का महासंघले एक आपसमा भागबण्डा गरी धनि बन्ने प्रयासमा लागेका छन् ।

शिक्षाको वास्तविक बजेट कति हो कसैलाई थाहा छैन । स्वास्थ्य मानिसका लागि अति आवश्यक महत्वपूर्ण कुरा हो । त्यस क्षेत्रमा आएका बजेट महिनौं महिना तालिम गोष्ठि गरेर सिध्याउँदै छन् । स्थानीय निकाय जो जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय हो । जनताले गर्नु पर्ने विकास निर्माणका कार्य वडा सचिवहरू केही स्थानीय नेताहरूलाई कमिसनको प्रलोभन दिई अमानतमा काम गराई लाखौं लाख कमाउनमा व्यस्त भएका छन् ।

वडा कार्यालय होस् वा नपा कोही अछुतो छैन । समान्य सिफारिस लिन पनि दस्तुर वाहेकको नजराना चढाउनु भएन भने काम हुन्छ भने आश नगरे पनि हुन्छ । जिल्लाको प्रमुख बस्ने स्थान पनि फोहर भएको छ । वडा सचिवहरूले १६ वर्षको बालकको नागरिकताका लागि सिफारिस गरेर पठाइ सकेपछि त्यो बालकको उमेर बाटोमै दुई वर्ष बढिसकेको हुन्छ । दक्षिणा दिएपछि जे पनि पाउने जस्ता महान देशका नागरिक हामी हौ । हामीलाई आफैमा गौरवान्वित हुनुपर्छ । चाहेको बेला जे पनि गर्न सक्छौ कति दर्जन कति दर्जन राजनीतिक पार्टी भइसकेका छन् । हरेक सानो ठूलो पार्टीबाट मन्त्री भएकै हुन्छ । त्यसकारण हाम्रो प्रत्यक्ष सम्पर्क मन्त्रीसँग भएपछि हामी कमजोर हुने कुरै भएन । त्यसको फलस्वरूप हामी भित्रको डर हराएर गएको छ । हामी अराजकतातिर बढिरहेका छौ । हामीमा कानुनको डर भय  रहेन । यो अवस्था विशेष गरेर मधेशमा भएको छ ।

आज मधेश हरेक क्षेत्रमा पछि परेको छ र यसको मुख्य दोषी ठुला राजनीतिक दलहरू छन् । मधेशलाई बिगार्ने काम यी ठुलै दलबाट भएको हो । आज मधेशका राजनीतिक दलहरूको खेल्ने मैदान भएको छ । मधेश खेल्ने मैदान र मधेशी फुटवल जो कोही आएर गोल गर्ने प्रयास गर्दैछन् । कही कही लेखिएको हुन्छ हिमाल, पहाड, तराई कोही छैन पराई, यो लाइन पढ्दा आश्र्चय लाग्छ । यो लेखाईको उदेश्य केही क्षेत्रबाट पुरा भएको छैन । तर तराईले यसको सही अर्थ सम्झेर महाभूकम्पका बेला हृदयलाई खोलेर को हो को होइन सबै नेपाली हौ भनेर सहयोग गर्नमा कति पनि पछाडी परेन । हिमाल पहाड,तराई कोही छैन पराई , यसको अर्थ सम्झेर कार्य गर्छौं भने कोही आफ्नो अधिकारबाट बंचित रहदैन । कुनै क्षेत्र खेलको मैदान बन्ने छैन कहीको जनता फुटवल बन्ने छैन । कसैलाई टाउकोमा गोली हान्ने अवस्था आउँदैन । कहि अराजकताको जन्म हुँदैन कोही १ न. र २ . को नागरिक हुँदैन । कोही सानो ठुलो हुँदैन । मन कर्म बचनले हामी नेपाली बन्ने प्रयास गरौं । हामी पहिला नेपाली बनौं त्यसपछि हामी आ आफ्नो स्थानमा जे छौं त्यहीं रहने छौं । त्यो अधिकार हामीबाट कसैले लिन सक्दैन । अन्तमा माता जानकी र बाबा जलेश्वरनाथले सवैलाई सद्वुद्धि प्रदान गरोस् भन्ने कामना ।

Get real time updates directly on you device, subscribe now.