तीज गीत सामाजिक सञ्जाल र युट्युबमै सीमित

69

श्रावण , २०७४- तीज गीत रेकर्ड, म्युजिक भिडियो निर्माण एवं यसको प्रमोसनका लागि ठूलो रकम खर्च हुन्छ । खर्च गरेअनुसारको प्रतिफल अधिकांशले प्राप्त गर्दैनन्, तैपनि तीज गीत रेकर्ड गर्ने क्रममा कुनै कमी आएको छैन । एल्बम निकाल्ने खर्च व्यवस्थापन गर्न भन्दै कतिपय कलाकारले आफ्नो गीतका लागि लगानीकर्ता खोज्छन्, जसमध्ये कतिपयले जसोतसो रकमको जोहो गर्दै एल्बम दर्शक–श्रोतासम्म पुर्‍याउँछन् ।

आम्दानी गर्नभन्दा पनि केवल निरन्तरता दिन तीज गीत बजारमा ल्याउनेहरूको संख्या पनि ठूलै छ । यस क्रममा अहिले अधिकांश कलाकार आफ्ना तीज गीतको भिडियोको प्रमोसनमा व्यस्त देखिन्छन् । गीत–संगीत हिट हुनुमा म्यूजिक भिडियोको उपस्थिति अपरिहार्य बन्दै गएकाले कलाकारहरूले म्युजिक भिडियो निर्माण गर्नुपर्ने बाध्यता छ । यसले गर्दा एल्बमको लगानी निकै बढेको छ तर लगानीअनुरूपको प्रतिफल प्राप्त हुन सक्ने स्थिति छैन भने यसरी बजारमा आएका अधिकांश एल्बमका गीतले तीजको मौलीकतालाई समेट्न नसकेको गुनासो आम संगीतप्रेमीको छ ।

ठूलो रकम खर्च गरेर व्यवसायिक मोडललाई भिडियोमा राख्दासमेत त्यस्ता भिडियोले दर्शक–श्रोताको मन जित्न सकिरहेका छैनन् । केही वर्ष पहिलेसम्म लिप–सिनमा मात्र देखिने गायक–गायिका अहिले मोडलका रूपमा आफैं प्रस्तुत हुन थालेका छन् । दर्शक नयाँपन चाहन्छन् तर भिडियो कामचलाउ बनिरहेका छन् । यसले गीतको व्यवसायिकतामा समेत असर परेको छ ।

यति हुँदाहुँदै पनि केही गीतले तीज गीतको मौलीकतालाई समेट्दै वास्तविक तीज गीतको स्वाद चखाउने प्रयास गरेका छन् । यद्यपि यस्ता गीतको संख्या ज्यादै न्यून छ । केही गीतले अश्लीलतालाई स्थान दिएकाले परिवार सँगै बसेर भिडियो हेर्नसमेत असहज हुने गरेको छ भने यस्तै अश्लिल मानिएका गीत हेर्ने दर्शकको संख्याचाहिँ बढी पाइन्छ ।

अहिले रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालहरूमा तीज गीतकै चर्चा छ । तीजका कतिवटा गीत बजारमा आइसकेका छन् भन्ने आधिकारिक तथ्यांक कतै उपलब्ध नभए पनि विभिन्न माध्यमबाट सयौंको संख्यामा तीज केन्द्रित गीत सार्वजनिक भएका छन् । रहरले तीज गीत निकाल्नेहरू पनि छन् । चर्चामा आएर देश–विदेशका कार्यक्रममा सहभागी भै मनग्य आम्दानी गर्ने उद्देश्यले गीत तयार पार्नेहरू पनि उस्तै छन् । संस्कृतिको संरक्षण तथा तीजको मौलिकताको रक्षा गर्ने उद्देश्य राख्नेहरूले समेत आफूलाई निरन्तरता दिँदै आएका छन्, तर यसरी निर्माण भएका अधिकांश गीत मिडिया तथा सामाजिक सञ्जालमा मात्र सीमित छन् । सामाजिक सञ्जाल फेसबुक र युट्युब नै यी गीत हेर्ने माध्यम बनेका छन् । महिलाहरूको चाड भनिए पनि तीज गीतमा पुरुष कलाकारको बाहुल्यता बढ्दै गएको छ । नारीका पीर, व्यथा, वेदना गीतमार्फत व्यक्त हुने चलन तडक–भडकपूर्ण प्रदर्शनमा रूपान्तरण हुँदै गएको छ ।

https://ankushdaily.com/