एजेन्सी – स्पेनिस सुपर कप अन्तर्गत क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँच खेल घुमाउने भएका छन्। रोनाल्डोले खेलमा दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि रेफ्रीलाई हातले धकेलेका थिए।
उक्त खेलको रातो कार्डको १ खेल र रेफ्रीलाई धकेलेका कारण ४ खेल जोडेर कुल ५ खेल प्रतिबन्ध लगाइएको हो। स्पेनिस फुटबल एसोसिएसनको नियम अनुसार रेफ्रीमाथी हात लगाउदा ४ खेलदेखी १२ खेलसम्म गुमाउने निश्चित हुन्छ । रेफ्री डी बुर्गोसले आफ्नो खेलपछिको प्रतिवेदनमा रोनाल्डोले धकेलेको पनि खुलाएका कारण उनले सजाय पाएका हुन्। ‘रातो कार्डको सामना गरेपछि रोनाल्डोले मलाई असहमतिमा धकेले’, रेफ्रीको प्रतिवेदनमा उल्लेख गरिएको थियो।
आइतबार रातिको खेलमा पहिलो रोजाइमा नपरेका कारण ५८औं मिनेटमा मैदान प्रवेश गरेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ८०औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियलले खेलमा पुन: अग्रता लिएको थियो। रोनाल्डोले इस्कोको पास लिएर पिकेलाई छक्याउँदै बक्स बाहिरबाट गरेको प्रहार टप कर्नरमा उत्कृष्ट ढंगले छिरेको थियो। उनले उक्त गोलको खुशी मनाउने क्रममा जर्सी उतारेपछि पहेंलो कार्ड पाएका थिए।
त्यसको १ मिनेटपछि रोनाल्डो अर्को आक्रमणका क्रममा बक्सभित्र बार्सिलोनाका स्यामुएल उम्टिटीले फल हानेको जनाउदै बक्सभित्र लडे। तर, रेफ्रीले रोनाल्डोलाई फल नहानेको र उनले डाइभ दिएको आरोपमा दोश्रो पहेंलो कार्ड देखाउँदै रातो कार्ड दिए। रेफ्रीले दोहोरो पहेंलो कार्ड देखाएपछि रोनाल्डोले रेफ्रीलाई हातले पेलेका थिए।
यस प्रतिबन्धसँगै रोनाल्डोले रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुने दोश्रो लेगको खेल गुमाउने पक्का भएको छ। यद्दपी उनले बाँकी ४ खेलको प्रतिबन्धका लागि भने १० दिनसम्ममा अपिल गर्न पाउनेछन्। ( hamro khelkud )