केन्यामा राष्ट्रपतीय निर्वाचन फेरी गर्न अदालतको आदेश

16

नैरोबी, भदौ । केन्याको सर्वोच्च अदालतले हालै भएको राष्ट्रपतीय निर्वाचन त्रुटिपूर्ण र अवैधानिक भएको भन्दै फेरि निर्वाचन गर्न शुक्रबार आदेश दिएको छ ।
अदालतले विगत ६० बर्षदेखि भइरहेको अभ्यासलाई अवलम्बन गर्न पनि निर्देशन दिएको अधिकारीले जनाएका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष डेभिड मारागाले गत अगस्त आठमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा उहुरु केन्याटा निर्वाचित भएको घोषणा अनियमित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत अगस्त ८ मा भएको राष्ट्रपतीय निर्वाचन संविधान अनुसार भएको थिएन । त्यसैले त्यो घोषणा पनि त्रुटिपूर्ण र अवैधानिक थियो ।”
केन्याको विपक्षी गठबन्धन ‘नेशनल सुपर एलाइन्स‘को तर्फबाट राष्ट्रपति पदका उम्मेदबार बन्नु भएका नेता राईला ओडिङगाले केन्याटालाई विजयी घोषणा गर्नु गलत भएको भन्दै निवेदन दिनुभएको थियो ।
निवेदनमा ओडिङगाले निर्वाचनका बेला निर्वाचन सामग्रीहरुको व्यापक दुरुपयोग भएको र यन्त्रहरु ह्याक गरेर अनियमितता गरिएको आरोप लगाउनु भएको छ ।
अदालतका चार जना न्यायाधीश निर्वाचनमा गलत भएको पक्षमा थिए भने अरु दुई जना निर्वाचनमा त्रुटी नभएको दावी गरेका थिए ।
प्रधानन्यायाधीश मारागाले स्वतन्त्र निर्वाचन आयोगले कानुन अनुसार निर्वाचन गराउन असफल भएको वा वेवास्ता गरेको बताउनु भयो ।
यसैबीच, अदालतले फेरी निर्वाचन गराउन आदेश दिएपछि विपक्षी समर्थकले खुशीयाली मनाएका छन् ।
हजारौ विपक्षी सर्वोच्च अदालत अगाडी भेला भएर नाचगान गर्दै अदालतको आदेशको स्वागत गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
उनीहरुले व्यानर, प्लेकार्ड सहित विजय ¥यालीको रुपमा देशभरका अन्य ठाँउहरूमा पनि खुशीयाली मनाएको बताइएको छ । रासस

https://ankushdaily.com/