२ नं. प्रदेशको निर्वाचन मधेस पक्षधर र विरोधी बीच जनमत संग्रह हो : नेता लेखक

10

वीरगन्ज, भदौं ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् केन्द्रिय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले स्थानिय तह तेश्रो चरणको निर्वाचन मधेस पक्षधर र मधेस विरोधी बीचको जनमत संग्रह भएको बताउनु भएको छ । उहाँले मधेसीलाई अधिकार सम्पन्न बनाउन चाहने र अधिकारबाट बञ्चित राख्ने बीच जनतमत संग्रहको रुपमा २ नम्बर प्रदशेको आसन्न स्थानिय तह निर्वाचनलाई लिइएको धारणा व्यक्त गर्नु भयो ।
नेपाल प्रेस युनियन पर्सा शाखाले शनिबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता लेखकले मधेसी जनताले अभिव्यक्त गरेका भावनालाई संविधानमा समावेश गर्न चाहने र गर्न नचाहनेलाई २ नम्बर प्रदेशका जनताले छान्ने मौका पनि स्थानिय तह निर्वाचनमा रहेको विचार व्यक्त गर्नुभयो ।पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता लेखकले संविधानको सर्व–स्वीकार्यता र कार्यान्वयन जरुरी रहेको बताउदै उहाँले तराई मधेसको भावनालाई संशोधन मार्फत संविधानलाई अझ बढी सर्व–स्वीकार्य बनाउन नेपाली काङ्ग्रेसले इमान्दार प्रयास गरेको र स्थानिय तहको निर्वाचनमा सबै दल सहभागी हुने वातावरण निर्माण गर्दै बाकी दुई तहका निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न हुने वातावरण समेत काङ्ग्रेसले नै बनाएको दावी गर्नु भयो ।
उहाँले तराई मधेसको समस्यालाई काङ्ग्रेस वाहेक अरु दलले समाधान गर्न नसकिने बताउनु भएको छ । विभाजित र विभक्त अवस्थामा रहेका मधेसवादी दलले मधेसीको भावनालाई संविधानमा समावेश गराउन नसकिने भएकाले काङ्ग्रेसका उम्मेदवारलाई नै मतदान गर्न उहाँले जनतालाई अपिल गर्नुभयो । मधेसी जनताको भावनालाई राष्ट्रियकरण गर्दै संशोधन मार्फत सम्बोधन काङ्ग्रेसले नगर्ने भएकाले स्थानिय तह निर्वाचन देखी प्रदेश र केन्द्रको निर्माणमा जनताले काङ्ग्रेसलाई नै मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा सहभागि रहेका काङ्ग्रेसका तर्फबाट वीरगन्ज महानगरपालिकाका उम्मेदवार अजय कुमार द्विवेदीले स्थानिय तह तेस्रो चरण निर्वाचनको प्रचार प्रसारमा व्यापक अचार सहिंता उलङ्घन भएको आरोप लगाउनु भएको छ । उहाँले प्रचार प्रसारका क्रममा भएको आचार सहिंता उलङ्घनलाई रोक्न निर्वाचन आयोगलाई प्रभावकारी भुमिका खेल्न आग्रह गर्दै नेता द्विवेदीले अचारसहिताको सम्मान नगर्ने उम्मेदवारलाई मतदान नगर्न महानगरपालिकाका मतदातालाई अपिल समेत गर्नुभयो ।
नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा काङ्ग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया, सांसद अनिल रुङ्गटा,महानगपालिकाको उपमेयरका उम्मेदवार शान्ति कार्की लगायतको उपस्थित रहेको थियो ।अंकुश दैनिकमा समाचार छ ।