भोज खाए पनि ,झण्डा बोके पनि भोट कता जान्छ त्यो ग्यारेन्टी छैन

46

“मेयरका उम्मेदवार अजय द्विेवेदी र बिजय सरावगी बीच कडा टक्कर”

वीरगन्ज,  भदौं ।
वीरगन्ज महानगरमा राम्रै जनाधार रहेको एक दलको चुनावी प्रचार प्रसारमा विगत एक साता देखि लागेका वीरगन्ज १० का युवक शैलेश गुप्ता भन्छन्, ‘अहिले जसको प्रचारमा हिडेपनि उसलाइ नै भोट दिन्छु भन्ने ग्यारेन्टी छैन , अर्को उम्मेदवारलाइ पनि मेरो भोट जान सक्छ ।
टोलका साथीहरुको करकापमा अहिले चुनावी प्रचार प्रसारमा लागेको भन्दै शैलेश भन्छन् ,‘यसपाली पहिलो पल्ट भोट हाल्ने मौका पाउदैछु , हामी युवाका लागि जस्ले केहि गर्न सक्छ उसलाइ नै म भोट हाल्छु ।
वीरगन्जको घण्टाघर नजिक चिया पसल चलाउदै आएका २४ वर्षिय भुलन कुमार पनि अहिले सम्म मेयरमा कसलाइ भोट दिने भनेर अन्तिम निर्णयमा पुगीसकेका छैनन् । उनि भन्छन् ,‘ सबैको प्रचार प्रसार हेरिरहेको छु , अन्तिममा जसको पल्ला भारि हुन्छ जस्तो देखिन्छ , मेयरमा उसैलाइ मैले भोट दिन्छु , सकभर मेरो भोट खेर नजाओस् भन्ने सोचमा छु ।
अहिले त सबै एक से एक धनाढ्य उम्मेदवार चुनावमा उठेका छन् , एउटै टोलमा दिनहु तीन चार जनाको मासु भातको भोज चलिरहेको छ , एक दुइ पटक मैले पनि भोज खाइसकेको छु , वीरगन्ज १५ का युवा दिनेश कुमार सर्राफ भन्छन् ,‘ पैसा खर्च गर्नमा कोहि भन्दा कोही कम छैन , सबैले पैसाको खोलो बगाइरहेका छन् , तर पैसा बाडेर र भोज खुवाएर चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ , अहिले सम्म पनि मेरो भोट कस्लाइ जान्छ भन्ने ठेगान छैन , जस्ले राम्रो काम गर्छ जस्तो लाग्छ उसैलाइ म भोट दिन्छु ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का २८ वर्षिय युवा मुन्ना सर्राफ कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन् । आफुसंगै दिनरात हेलमेलमा रहेका उनका अधिकांश दौंतरीहरु एक एक वटा राजनीतिक दलका उम्मेदवारको प्रचार प्रसारमा लागीसकेका छन् ।
तर मुन्ना भन्छन्,‘ अहिले सम्म म कसैको पनि झण्डा बोकेर प्रचारमा हिडेको पनि छैन , न त कुनै उम्मेदवारको भोजमा नै गएको छु । चुनावमा कसलाइ भोट हाल्ने हो त्यो पनि अहिले सम्म मैले फिक्स गरिसकेको छैन , मुन्ना भन्छन् ,‘ यसपाली पुराना बुढा नेताहरु भन्दा पनि वीरगन्जका लागि केहि गर्न सक्ने युवा नेतालाइ भोट दिने भनेर विचार गरिरहेको छु ।
असोज २ गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुको प्रचार प्रसारमा वीरगन्ज महानगरमा बढि जसो युवाहरु नै परिचालन भएका छन् । उम्मेदवारहरुको चुनावी प्रचार प्रसारमा निस्कने गरेका रयाली , घरदैलो जस्ता कार्यक्रममा युवाहरुकै संख्या बाक्लो देखिने गरेको छ । मोटरसाइकलमा दल र उम्मेदवारको झण्डा झुण्डयाएर हिडनेहरुमा युवाहरु नै बढि छन् । महानगरका ठाँउ ठाँउमा भइरहेको भोजभतेरमा पनि युवाहरुकै चहल पहल बढि देखिएको छ । तर कुनै दल विशेषका उम्मेदवारको प्रचार प्रसारमा मोटरसाइकलमा झण्डा झुण्डयाएर हिडेपनि र भोज खाएपनि वीरगन्ज महानगर युवाको मत कस्को पोल्टामा जान्छ भनेर ठोकुवा गर्न गार्‍हो छ ।
वीरगन्ज महानगरको मेयरका लागि ३५ जना चुनावी मैदनमा उत्रिएको भएपनि ५/६ जना बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

काँग्रेसका तर्फबाट मेयरमा अजय द्विवेदी , संघीय समाजवादी फोरम नेपालबाट विजय सरावगी ,राष्ट्रिय जनता पार्टी (राजपा) बाट राजेशमान सिंह , नेकपा एमालेबाट बसरुद्धिन अन्सारी , नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव र नेकपा माओवादीका तर्फबाट रहबर अन्सारी उम्मेदवार छन् ।
मनोनयन दर्ताको अघिल्लो दिन सम्म वीरगन्ज महानगरको मेयरमा काँग्रेसका द्धिवेदी , फोरम नेपालका सरावगी र राजपाका तत्कालीन महामन्त्री श्रीवास्तव बिच त्रिकोणात्मक प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । तर राजपाले महामन्त्री सिंहलाइ मेयरको टिकट दिए लगत्तै पार्टी परित्याग गरि श्रीवास्तव , लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेपछि भने वीरगन्ज महानगरको मेयर लागि हुने चुनावी भिडन्तको परिदृश्य फेरिएको छ ।
राजपाकै दुइ नेता सिंह र श्रीवास्तव फरक फरक दलबाट मेयरको प्रत्याशी बनेपछि त्यसको फाइदा फोरम नेपालका उम्मेदवार सरावगीलाइ हुने आकलन गरिएको छ । अब वीरगन्ज महानगरको मेयरमा काँग्रेसका द्धिवेदी र फोरम नेपालका सरावगी बिच नै कडा टक्कर हुने चर्चा चल्न थालेको छ । अंकुश दैनिकमा समाचार छ ।

https://ankushdaily.com/