आचारसंहिताको सम्मान नगर्ने उम्मेदवारलाई मतदान नगर्न आयुक्त शर्माको अपिल

5

वीरगन्ज ।
निर्वाचन आचारसंहिताको सम्मान नगर्ने उम्मेदवारलाई मतदान नगर्न निर्वाचन आयुक्त इला शर्माले मतदाताहरुलाई आग्रह गर्नु भएको छ । उहाँले उम्मेदवार मात्र रहेका बेला आचारसंहिता नमान्ने उम्मेदवार निर्वाचित भएपछि कानुनको सम्मान नगर्ने भएकाले त्यस्ता उम्मेदवारलाई मत नदिन अपिल गर्नु भएको हो ।
वीरगन्जमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार सन्चारकर्मीहरुसंग कुरा गर्दै आयुक्त शर्माले सामाजिक सदभावमा खलल् पुर्‍याउने र साम्प्रदायिकता फैलाउने खालका चुनावी ब्यानर र पर्चा पम्प्लेट प्रयोग गर्ने उम्मेदवारहरुको उम्मेदवारी खारेज समेत गर्ने चेतावनी दिनु भयो । उहाँले पर्सामा केहि दल र तीनका उम्मेदवारहरुले विभिन्न आन्दोलनमा मारिएका व्यक्तिहरुको रक्ताम्ये र विभत्स तस्वीर सहितको ब्यानर र पम्प्लेट चुनाव प्रचारमा प्रयोग गरेको पाइएकाले यसमा निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो ।
निर्वाचन आचारसंहिता अनुसार एक त ब्यानर प्रयोग गर्नै पाइदैन, त्यसमा पनि विभत्स फोटो राखेर उम्मेदवारहरुले सार्वजनिक स्थलमै ब्यानर झुण्डाएका छन् , त्यस्ता ब्यानर राख्ने उम्मेदवारको उम्मेदवारी समेत खारेज हुन सक्ने आयुक्त शर्माले जानकारी दिनुभयो ।
निर्वाचनलाई निष्पक्ष र धांधली रहित बनाउन निर्वाचनमा गोला प्रथा मार्फत कर्मचारीहरुलाई खटाइने आयुक्त शर्माले जानकारी दिनुभयो । उहाँले निर्वाचनको निष्पक्षतालाई अझै बढाउने उद्देश्यका साथ आयोगले निर्वाचनमा सहभागि हुने अधिकृतको मतदान केन्द्र गोला प्रथाबाट छान्ने पहिलो पटक अभ्यास गर्न लागेको बताउनु भयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले आसन्न निर्वाचनका लागि अवैध साना हतियार ठूलो चूनौतीका रुपमा देखिएको बताउनु भयो । भारतसंग खुल्ला सीमा जोडिएका कारण पर्सामा सीमावर्ती भारतीय भूमीबाट हुन सक्ने निर्वाचन विरोधी अवान्छित गतिविधी प्रति विशेष सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी सिंहले बताउनु भयो ।
कार्यक्रममा पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्ण, प्रहरी उपरिक्षक डा.गणेश रेग्मी ,जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुली लगायतको सहभागीता रहेको थियो ।