६ पार्टीले पाउने भए राष्ट्रिय पार्टीको दर्जा

7

काठमाडौं, २६ मंसिर ।
यसपटकको निर्वाचनले मुलुकका ६ ओटा पार्टीलाई मात्र राष्ट्रिय पार्टीको हैसियत दिने देखिएको छ ।
यसरी राष्ट्रिय दलको मान्यता पाउनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी हुने भएका हुन् । राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा एक सिट र समानुपातिकमा तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनुपर्ने भएकाले यी ६ दलले मात्र कानुनी प्रावधान पूरा गर्ने देखिएको छ ।
दुई राप्रपामध्ये हलो चुनाव चिन्ह रहेको राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षमा एउटा पनि सिट जित्न नसकेकाले समानुपातिकमा तीन प्रतिशत मत ल्याएपनि राष्ट्रिय पार्टी बन्ने सम्भावना सकिएको छ । गाई चुनाव चिन्ह रहेको राप्रपाले भने प्रत्यक्षमा एक सिट पनि जितेको र समानुपातिकमा पनि तीन प्रतिशत कटाउन सक्ने भएकाले यो दल राष्ट्रिय दल बन्ने सम्भावना रहेको छ । लामो समयदेखि राजनीति गरिरहेका पुराना पार्टी मानिने नेमकिपा, राष्ट्रिय जनमोर्चा एवं पोहोरमात्र गठित नयाँ शक्ति पार्टीले प्रत्यक्षमा एक/एक सिट जितेको भएपनि तीन प्रतिशत मत कटाउने सम्भावना कम देखिएको छ । त्यसैले ती दलले प्रत्यक्षमा जितेर पनि राष्ट्रिय दल बन्ने सम्भावना कम रहेको छ ।
सँगसँगै यस निर्वाचनले ठूला दलहरुको हैसियतमा पनि फेरबदल गरिदिएको छ । प्रजातान्त्रिक आन्दोलनको पर्याय बनेको र पटक–पटक पहिलो दलको हैसियतमा रहेको नेपाली कांग्रेस इतिहासमै कमजोर देखिँदै तेस्रो दलको हैसियतमा खुम्चिने सम्भावनामा पुगेको छ ।
सम्पूर्ण परिणाममा उसको दोस्रो वा तेस्रो के हैसियत हुने भन्नेचाहिँ समानुपातिकको परिणामले निर्णय गर्नेछ । अबको संसदमा हालको दोस्रो दल नेकपा एमाले सबैभन्दा ठूलो राजनीतिक दल हुनेछ । इतिहासमै एमाले पहिलोपटक यो हैसियतमा देखिन लागेको हो । प्रत्यक्षमा दोस्रो स्थान पाएको नेकपा माओवादी केन्द्र भने दोस्रोमै टिक्नेछ वा तेस्रोमा पुग्नेछ भन्नेचाहिँ समानुपातिकमा उसले पाउने मतले निर्धारण गर्नेछ ।