वीरगंज, २७ मंसिर ।
पर्साको प्रतिनिधी सभा १ बाट प्रत्यक्षमा निर्वाचित भएपछि संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको बिजय जुलुस भव्यता पूर्वक निस्केको छ । यादवलाई चाँदीको मुकुट र ५१ किलो फुलको माला लगाएर भव्य जुलुस वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीको निवासबाट निकालिएको थियो । सो बिजय जुलुसमा प्रदेश सभाबाट निर्वाचित भएका प्रदेश सभा सदस्य जन्नत अंसारी र लालबाबु राउतको समेत उपस्थिती रहेको थियो ।
बारामा फोरमको जुलुसमा झडप, कैयौ घाइते प्रहरीद्वारा हवाई फायर
यसैगरी बाराको क्षेत्र नम्बर २ को प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित संघीय समाजवादी फोरम नेपालको विजय जुलुसमा बुधवार दिउँसो झडप भएको छ ।
जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ४ बेलदारीमा दिउँसो करिब साँढे तीन बजेको समयमा संघीय समाजवादी फोरम नेपालको विजय जुलुसलाई स्थानियले बिरोध गरे पछी फोरम र स्थानिय कार्यकर्ता बिच झडप भएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी बिजय मानन्धरका अनुसार झडप भए पछी प्रहरीले भिड नियन्त्रण गर्न दर्जनौ अश्रु ग्याँस र २० राउण्ड भन्दा बढी हवाई फायर गरेको हो ।
बाजा गाजा सहित जुलुसमा निस्किएका फोरमका कार्यकर्तालाई स्थानिय काँग्रेस कार्यकर्ताले जितिसके पछि बाजा गाजा र गाना बजाएर हल्ला नगर्न आग्रह गरे पछी विवाद सुरु भएको हो ।
बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संघीय समाजवादी फोरम नेपालका नवनिर्वाचित उम्मेदवार रामसहाय यादव सहित निस्किएको बिजय जुलुसमा स्थनिय काँग्रेसका कार्यकर्ताले ढुंगामुढा गरे पछि प्रतिकारमा उत्रिएको फोरम कार्यकर्ताको भनाई छ ।
यता बाराका प्रमुख जिल्ला अधिकारी बिजय मानन्धरले भिड नियन्त्रण गर्न नसके पछी सुरुमा लाठी चार्ज गरेको बताएका छन् ।
झडप नियन्त्रण गर्ने क्रममा ४ प्रहरी समेत घाईते भएका छन् । स्थिती असामान्य बन्दै गए पछी दर्जनौं अश्रु ग्याँस र २० राउण्ड भन्दा बढी हवाई फायर समेत भएको स्विकार गर्दै उनले घटना स्थलमा थप प्रहरी परिचालन गरिएको बताएका छन् ।