पर्सा र बारामा भिषण आगलागी लाखौंको क्षति

50

बीरगञ्ज, २७ मंसिर ।
पर्साको जगरनाथपुर गाँउपालिका– ५ धर्मपुर गाँउमा आगलागी हुँदा ८ वटा घर गोठ जलेर नष्ट भएको छ । स्थानीय हरेन्द्र साह गोढको घरबाट सल्केको आगो, धुरी साह गोढ, शिवनाथ गोढ, जगदिश ठाकुर हजाम, राजेन्द्र पंडित, धुरी पंडित लगायतको घर जलेर नष्ट भएको छ । आगलागी हुदाँ घरमा रहेको कपडा, अन्न, भाँडा कुँडा लगायतका समाग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन । साथै गोठ नजिकै रहेको खलियनामा रहेको ३ हजार धानको बोझा पनि जलेर नष्ट भएको छ । आगलागीमा नष्ट भएको विस्तृत विवरण संकलन भईरहेको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । पौने २ बजेतिर लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भईरहेको छ । घरमा लागेको आगो नियन्त्रणमा आएको भएतापनि धानको बोझामा लागेको आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिकाको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा आगलागी नियन्त्रणका लागि प्रयासरत रहेका थिए ।
त्यसैगरि वीरगञ्ज महानगरपालिका वडा–३० लालपर्सामा पनि आगलागी भएको छ । आगलागीमा फुसको घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय गगनदेव सहनी, गम्भिरा राम चमारको घर जलेर नष्ट भएको हो । दुईवटा साईकिल, लत्ता कपडा, ४ लाख बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ । गम्भिराको घरमा राखिएको बाढी पीडित मुक्तिलाल महराको समान पनि आगलागीमा जलेर नष्ट भएको छ । आगोलाई स्थानीय र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।
यसैबीच कलैया उप–महानगरपालिका वडा न २० बसतपुरमा आगलागी हँुदा २० लाख बराबरको क्षति भएको छ । ५ जनाको घर र दुई जनाको धान गरि करिब २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कलैया उप–महानगरपालिका वडा न २० स्थित बसतपुरमा परालमा लागेको आगोले स्थानिय मनोज साह तेली, जोखन ठाकुर लोहार, धनधारी मण्डल, रामसुन्दर मण्डल, बिरेन्द्र मण्डल लगायतका घर जलेर नष्ट भएको छ भने स्थानिय भिखारी साह तेलि र हिरालाल साह धानुकको करिब २ लाख बराबरको धान जलेर नष्ट भएको बारा प्रहरीले जनाएको छ । आज दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा लागेको आगो वीरगञ्ज महानगरपालिका, जितपुर, अमलेखगन्जबाट गएको बारूण यन्त्रको सहयोगमा ३ बजेर ३० मिनेटमा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासिको उल्लेखनीय सहयोगले २ घण्टामा आगो नियन्त्रणमा लिन सफल भएको र आगलागीमा मान्विय क्षति नभए पनि लता कपडा, नगद सहित करिब २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यसैगरी आगलागीबाट घर विहिन बनेका पिडित परिवारलाई कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले राहत सामग्री वितरण गरेका छन । प्रमुख यादवले २० नं. वडाका वडाध्यक्ष र ८ नं. वडाका वडाध्यक्ष दशै यादवले पिडित परिवारलाई कम्बल, त्रिपाल र चिउरा वितरण गरेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

https://ankushdaily.com/