सिमा नाकाबाट कपडा र चल्लाको व्यापक तस्करी

65
वीरगंज, २ पौष ।
बारा र पर्सा जिल्लाको सिमाना नाकाहरुबाट कपडा र चल्लाको तस्करी तिब्र रुपले बढेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई मोटो रकमको नजराना दिए पश्चात कपडा र चल्लाको तस्करीको लाइन खोलिएको हो । नेपाल र भारतको सीमाना नाकामा पर्ने बाराको बरैनिया, आमवा, कवहीगोठ, सिम्रौनगढ र कचोर्वा नाकाबाट कपडा तस्करीको लाइन खोलिएको छ भने पर्साको मुल भन्सारको रुपमा मानिने वीरगंज भन्सार, श्रीसिया, झौवागुठी, जानकी टोला लगायतका नाकाहरुबाट कपडा र चल्लाको लाइन खुल्ला भएको तस्कर श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार बारा र पर्साका नाकाहरुबाट तस्करी गर्नको निम्ति लाखौ रुपैया माथिल्लो निकायमा दिए पश्चात मात्र लाइन खोलिएको बताए ।
तस्करहरुको संगठनले माथिल्लो निकायलाई नजराना बुझाए पश्चात मात्र स्थानिय प्रहरी चौकीहरुमा महिनावारी स्वरुप रकम लिने गरेको बारे श्रोतले जानकारी दिएको छ । उनले आफ्नो नाम नछाप्ने सर्तमा भारतको बिभिन्न ठाउँहरुबाट खरिद गरिएको कपडा नेपाल भित्र्याउनुको निम्ति सिमानामा खटेका प्रहरीहरुलाई ड्यूटी गरेको स्वरुप माथिबाट थप रकम दिने गरेको बताए ।
सीमा नाकामा शान्ति सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरीले त्यही नाकालाई आफ्नो आम्दनीको थलो बनाएका छन् । वीरगंज भन्सार कार्यालय अगाडीबाटै ई—रिक्साको माध्यमले कपडाको तस्करी खुलेयाम भइरहे पनि प्रहरीहरु मौन बस्नु ठूलै रकमको लेनदेन रहेको प्रष्ट हुन्छ । चल्ला तस्करीका कुख्यात तस्करहरुले पर्साको श्रीसिया, झौवागुठी, जानकीटोला लगायतको नाकाहरुबाट दिनहु १० हजार भन्दा बढी चल्ला अवैध तरिकाले नेपाल भित्र्याएपनि प्रहरीहरु मौन बस्नु के कति इमान्दारीता पूर्वक कार्य गरिरहेको बारे प्रष्ट हुन्छ ।
चल्ला तस्करका समूहहरुले साइकल र मोटरसाइकलको माध्यमले नेपाल भित्र्याउने गरेतापनि नेपाल भित्र्याई पिकअप र ट्रकको माध्यमले नेपालको बिभिन्न ठाउँहरुमा पुर्‍याउने गरेका छन् । जिल्लाको शान्ति सुरक्षाको निम्ति ठेक्का लिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले ‘एनि हाउ पैसा कमाउ’ भन्ने उखानमा लागेपछि यस्तो ठूलाबडा तस्करहरु आफ्नो कार्य सजिलै गरिरहेको प्रष्ट भएको छ । यस सन्दर्भमा माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।
https://ankushdaily.com/