बारा, ९ पुस ।
कलैया उपमहानगरपालिकाका प्रमुख राजेश यादव यादवले नगरवासीबाट आएको राय, सुझाव अनुसार नै नगर क्षेत्रको विकास निर्माणको कार्य अगाडी बढाईने बताएका छन् ।
कलैया उपमहानगरपालिकाको प्रथम नगरपरिषदबाट पारित गरीने योजनाहरुको लागि आयोजना गरीएको बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले निर्वाचित पदाधिकारीहरुले मात्रै नगरको बिकास गर्न नसकिने भएकोले नगर क्षेत्रको विकासको लागि सबैलाई समेटेर अगाडी बढने बताए ।
छलफल कार्यक्रमका सहभागीहरुबाट नगर क्षेत्रको दिर्घकालिन विकासको लागि आएको राय र सुझावहरुलाई नगरपरिषदबाट पारित गराएर बजेटले भ्याएसम्म बिकास निर्माणको कामहरुलाई प्राथमीकतामा राखेर अगाडी बढने उनले बताए ।
कार्यक्रममा कलैया नगर क्षेत्र भित्र धेरै समस्याहरु रहेको र ती समस्याहरुलाई सुधार गर्नु पर्ने कुरा उठे पनि कतिपय समस्यालाई समाधान गर्न गृह कार्य भई रहेको नगर प्रमुख यादवले बताए ।
दुई दशक देखि कर्मचारीहरुले चलाउँदै आएको नगरपालिकमा थुप्रेको समस्याहरुलाई समाधन गर्न र बिकास निर्माणमा प्रगति गराउन कार्यमा नगर क्षेत्रका बुद्धिजिवी वर्ग, नागरीक समाजका अगूवा, राजनितिक दलका प्रतिनिधि र व्यापारी वर्गहरुको सहयोग अपरिहार्य रहेको यादवले बताए ।
छलफल कार्यक्रममा बोल्दै बारा उधोग बाणिज्य संघका अध्यक्ष बिनोद साहले नगर क्षेत्रबाट निस्किने फोहोरलाई सितैमा नफालेर त्यसबाट नगरपालिकालाई आम्दानी हुने योजना अगाडी बढाउनु पर्ने बताए । सडक छेउमा घर भएका स्थानीयहरुले घर अगाडी निकालेका टहराहरुलाई हटाएर सडकलाई फराकिलो बनाउनु पर्ने माग साहले गरे । कार्यक्रममा बोल्दै प्रमोद गुप्ताले आन्दोलनबाट उपमहानगरपालिका बनाइएको कलैयालाई निर्वाचित प्रतिनिधि र कर्मचारीहरुले ईमान्दार भएर काम गर्नु पर्ने बताएका छन् ।
वडा अध्यक्षहरुले बजेट रकम भागबण्डा गरेर टुक्रे योजनाहरुलाई प्राथमीकता दिएको कार्यले कलैयाको बिकास हुन नसकिने बताए ।
मन्दिर र मस्जिदमा बजेट रकम नदिएर नगर क्षेत्रको बिकास गर्नको लागि ठुला योजनाहरु संचालन गर्नु पर्ने कार्यमा कलैया उपमहानगरपालिकाले जोड दिनु पर्ने गुप्ताले बताए ।
कार्यक्रममा सहभागी बनेका छठु प्रसाद यादवले कलैया अस्पतालमा खोलिएको फार्मेसी बन्द गरेर बिरामीहरुलाई ठगीने कार्य शुरु गरीएको र त्यस कार्यलाई कलैया उपमहानगरपालिकाले समयमै नियन्त्रण गर्न माग गरे ।
कार्यक्रममा मुकेश साहले कलैया उपमहानगरपालिकाको आम्दानी बढाउने कार्यको लागि कलैया बजार क्षेत्रमा रहेको सटरहरुको भाडा बढाउन सुझाव दिए ।
शहरी विकास मन्त्रालयबाट कलैया उपमहानगरपालिकाको लागि लगाइएको ठेक्काको कामहरु समयमै सम्पन्न गराउनको लागि नगर प्रमुख यादवले जिम्मेवारी साथ लाग्नु पर्ने बताए ।
कार्यक्रममा तेजनारायण साहले कलैया उपमहानगरपालिकाको मास्टर प्लान गरेर मात्रै बिकास निर्माणको कार्यहरु अगाडी बढाउनु पर्ने बताए ।
मास्टर प्लान गरेर विकास निर्माणको कार्य गर्दा मात्रै कलैया उपमहानगरपालिका बिकसित हुने तर्क साहले गरे । कार्यक्रममा रामानन्द यादवले नगर क्षेत्रमा पर्ने बिभिन्न खोलाहरुले खेती योग्य जमिन कटान गरी रहेकाले त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले बिशेष ध्यान दिनु पर्ने बताए । धेरै पुराना नगरपालिका भए पनि कलैयाको बिकास हुने नसकेको तर्क गर्दै यादवले यसको विकासमा सबै पक्ष मिलेर अगाडी बढनु पर्ने बताए ।
कार्यक्रममा मुक्ती यादवले नगर क्षेत्रको प्रत्येक वडाहरुका खेलकुदलाई प्राथमीकतामा राखेर नगरपालिका अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा उमेशलाल दासले कलैया बजार क्षेत्रलाई व्यवस्थीत गरेर ठाउँ ठाउँमा शुलभ शौचालय निर्माण गर्नु पर्ने बताए ।
कलैया बजार क्षेत्रको माछा, मासु पसललाई बजार क्षेत्रबाट बाहिर राख्न लगाएर बजारको फोहोरलाई काम गर्न सकिने दासले सुझाव दिए ।
कार्यक्रममा पुर्व मेयर भारतबहादुर मल्ल, कलावती पासवान लगाएतका सहभागीहरुले कलैया उपमहानगरपालिकाको विकास निर्माणको कार्यमा सबै एक भएर लाग्नु पर्ने बताए ।