क्षतिपुर्तीको विवाद देखाई निमार्ण कार्य रोकियो

7

वीरगंज, १० पुस ।
बाराको पथलैयादेखि पर्साको वीरगन्ज सम्मको ६ लेनको व्यापारिक मार्ग निर्माणको काम अवरुद्ध भएको छ । पथलैया–वीरगन्ज औद्योगिक करिडोर अन्तर्गत पथलैयादेखि सुख्खा बन्दरगाहसम्म ६ लेनको सडक निर्माण गर्न सरकारले २०७३ साल असार २९ गतेदेखि काम थालेको थियो । सडक आसपास २५ मिटरभित्र निर्माण भएका संरचना हटाउन स्थानीयले अटेर गरेपछि व्यापारिक मार्ग निर्माणको काम अबरुद्ध भएको हो । व्यापारिक मार्गमा पर्ने जितपुर बजारको डेढ किलोमिटर भित्रका दर्जनौं व्यापारिक संरचना र पक्की घर हटाउन स्थानीयले अटेर गरेका हुन् । निर्माण सुरु भएदेखि नै आयोजनाले संरचना हटाउन पटक–पटक गरेको आग्रहलाई जितपुरबासीले अवज्ञा गर्दै आएका छन् ।
स्थानीयबासीले भौतिक संरचना हटाउँदा क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् । पथलैया, सिमरालगायतका क्षेत्रका बासिन्दाले भने यसअघि नै आफ्ना संरचनाहरु हटाइसकेका छन् ।