भगवान भरोसे महानगरपालिकाको वारुणयन्त्र चल्दै, ज्यान जोखिममा राखि काम गर्दै अग्नि नियन्त्रक

19

बिजय चौहान
वीरगन्ज,१५ पुस ।
ज्यान नै जोखीममा राखेर असुरक्षित अवस्थामा काम गर्न बाध्य रहेको वीरगन्ज महानगरपालिकाको वारुणयन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रकहरुले बताएका छन् । न्युन जनशक्ति र आवश्यक उपकरण तथा तालिम अभावका बीच दैनिक ज्यान जोखिममा राखि काम गर्न बाध्य भएको अग्नि नियन्त्रणहरुको भनाई रहेको छ ।
बजारबाट खरिद गरिएको सामान्य खालका कपडा, जुत्ता र वर्षौ पुराना थोत्रा बारुणयन्त्र कै भरमा बारा, पर्सा, रौतहट, मकवानपुर सर्लाही र सिमावर्ती भारतीय सहरहरुमा भएको आगलागी नियन्त्रण गर्दै आएको अग्नि नियन्त्रकहरुले बताएका छन् । आगो निभाउने क्रममा लगाउनु पर्ने अग्नि अवरोधी लुगा, जुत्ता, अक्सिजन मास्क, हेल्मेट कुनै उपकरण नभएपनि आफ्नो ज्यानलाई जोखिममा राखि ठुलो भन्दा ठुलो आगो निभाउदै आएको महानगरपालिकाका बारुणयन्त्र शाखाका सहायक इन्र्चाज नेहाल अह्मदले जानकारी दिनुभयो । उहाँले फायर फाइटि· ड्रेस र आवश्यक तालिम अभावकै कारण पुस ५ गते सुपर ग्याँस उद्योगको घटनामा तीन जना साथीलाई गुमाउनु परेको बताउनु भयो । वारुणयन्त्र शाखामा २४ जना अग्नि नियन्त्रक भएपनि सुपर ग्याँस घटनामा तीन जनाको मृत्यु भएको र महानगपालिकाको अन्य शाखामा तीन जना खटाएपछि मात्र १८ जनाको भरमा काम गर्दै आएको सहायक इन्र्चाज अह्मदले जानकारी दिनुभयो । उहाँले वारुणयन्त्र शाखामा कर्मचारी र उपकरण अभाव भएको महानगरपालिकाका अधिकारीहरुलाई पटक–पटक जानकारी गराएपनि कुनै सुनुवाई नभएको गुनासो गर्नु भयो ।
साधन श्रोत र तालिम अभावका बीच सिमावर्ती भारतीय सहर सहित नेपालको पाँच जिल्लाको आगलागी भगवान भरोसे नै धान्दै आएको अह्मदले बताउनुभयो । दैनिक ज्यानलाई जोखिममा राखि जनताको जनधन जोगाउदै आएका अग्नि नियन्त्रणको जिवन विमा समेत महानगरपालिकाले नगरेको र यसकालागि पहल गर्न महानगरपालिकालाई भन्दा समेत कुनै सुनुवाई नभएको उहाँले गुनासो गर्नु भयो ।
वीरगन्ज महानगरपालिकाका वारुणयन्त्र शाखामा चार वटा वारुणयन्त्र भएपनि एउटा मात्र संचालनमा रहेको छ । संचालनमा रहेको बारुणयन्त्र पनि २० वर्ष भन्दा पुरानो भएकाले कुनैपनि बेला थन्किन सक्ने अग्नि नियन्त्रकहरुले बताएका छन् । शाखाका लागि विष्णु कोइरालाले खरिद गरेको सानो वारुणयन्त्र आएको दिन देखि नै विग्रेको छ भने एउटा सुपर ग्याँस घटनामा आगो लागेको र नयाँ ठुलो समेत विग्रीएको कर्मचारीहरुले बताएका छन् ।
अग्नि नियन्त्रणका लागि आवश्यक फायर फाइटि· ड्रेस र दुई वटा नयाँ वारुणयन्त्र उपलब्ध नगराए आउने चैत/ बैशाखको सिजन धान्न नसकिने शाखा प्रमुख शेरबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले हाल संचालनमा रहेको वारुणयन्त्र कुन बेला कहाँ विग्रीने भन्न नसकिने अवस्थामा रहेको बताउनु भयो ।
दुई वटा नयाँ वारुण यन्त्र खरिद गर्न मेयर साहबलाई भनेको छौ, यो सिजनमा नयाँ वारुणयन्त्र नआए आउने सिजनमा ठुलो समस्या हुने इन्र्चाज कार्कीको भनाइ रहेको छ ।
ज्यानलाई जोखिममा पारि जनताको ज्यान र सम्पत्ति जोगाउदै आएका अग्नि नियन्त्रकलाई आवश्यक उपकरण र तालिमको व्यवस्था महानगरपालिकाले नगरे पुस ५ गतेको घटना दोहोरिन सक्ने जानकारहरुको भनाई रहेको छ ।