काठमाडौँ, २३ पुस :
कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्र दिवस ९फागुन ७ गते० पछि मात्र नयाँ सरकार गठन हुनसक्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले सकेसम्म प्रदेश प्रमुखको नियुक्ति सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट टुंगो लगाउन प्रयत्न हुने जानकारी दिनुभयो ।
प्रदेश राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतबाट छिनोफानो गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले सरकारले तत्काल कार्य सञ्चालन गर्न स्थान तोक्नसक्ने बताउँदै मन्त्री थापाले प्रदेश प्रमुखको अपरिहार्यलाई सबैले स्वीकार गरेको हँुदा सरकारले समाजका विभिन्न क्षेत्रमा ख्याति पाएका व्यक्तिलाई नियुक्त गर्ने तयारी गरिरहेको बताउनुभयो । प्रदेश प्रमुख र प्रदेशको तत्काल कार्य सञ्चालन गर्ने स्थानका बारेमा मतैक्यता कायम गर्न सहमतिका लागि गरेको प्रयास सफल नभए पनि सरकारले राजनीतिक दलको भावनालाई बुझेर अघि बढ्ने मन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘सरकार कर्तव्य र जिम्मेवारीबाट च्यूत भयो’ – उपाध्यक्ष रावल
यसैबीच नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रदेशको राजधानी र प्रदेश प्रमुखको नियुक्ति गर्न नसक्नु भनेको सरकार संवैधानिक कर्तव्य र जिम्मेवारीबाट च्यूत हुनु हो भन्नुभयो ।
सरकारले संविधानको भावना र आवश्यकताअनुसार प्रदेशको राजधानी र प्रमुख तोक्ने काम गरोस् भन्दै उहाँले प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार संविधानले सरकारलाई दिएको बताउनुभयो ।
उपाध्यक्ष रावलले जनताको मतको अपमान हुने ढंगबाट शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरणको कुरा उठाइएको धारणा व्यक्त गर्नुभयो ।
प्रदेश प्रमुखमा नियुक्त हुने व्यक्तिको नाम नदिएकाले कसरी सहमति हुन सक्छ भनी प्रश्न गर्दै उहाँले जोखिम मोल्ने कामबाट सरकार उम्कने प्रयास गरिरहेको छ भन्नुभयो ।
नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सिलसिलामा उच्च तहका नेताको जिम्मेवारी बाँडफाँड र पार्टीका संगठन कसरी मिलाउने भन्ने विषयमा छलफल र गृहकार्य भइरहेको उल्लेख गर्नुभयो । (रासस)