जाडोले कठयांग्रिएर रौतहटमा पाँच जनाको मृत्यु

3

गौर, रौतहट, २४ पुस  :
दिनप्रतिदिन बढ्दो शीतलहरका कारण रौतहटमा जाडोले कठयांग्रिएर पाँच जनाको मृत्यु भएको छ ।
आइतबार मात्रै परोहा नगरपालिका(२ का ४५ वर्षीय शेख समिम र वडा नं ९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि शनिबार गडीमाई नगरपालिका(४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका(७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका(१ स्थित चिमनी भट्टामा काम गर्न आएका सर्लाहीका नेकमहम्मद अलीको मृत्यु भएको थियो । मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदूर हुन् । विगत एक हप्तादेखि बाक्लो कुहिरोसँगै शीतलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
चिसो हावासँगै शीतको वर्षा हुने गरेका कारणले चिसो अत्यधिक मात्रामा बढेको हो । जिल्लामा शीतलहर बढेपछि जिल्ला वन कार्यालयले अहिलेसम्म नौ स्थानमा दाउरा वितरण गरेको जनाएको छ । शीतलहरले जनजीवन प्रभावित भएपछि आपूर्ति समितिबाट सुलभ मूल्यमा दाउरा उपलब्ध गराइएको वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालय थप चार दिन बन्द
यसैबीच शीतलहर बढेपछि जिल्ला शिक्षा कार्यालयले फेरि थप चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शीतलहर कारण विद्यार्थीलाई विद्यालय आउन कठिन भएपछि आइतबारदेखि पुन: चार दिन बिदा थप गरेको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले जानकारी दिनुभयो ।
यसअघि गत पुस १७ गते सोमबारदेखि २१ गते शुक्रबारसम्म सबै सामुदायिक विद्यालय बन्द निर्णय भएको थियो । रौतहटमा ४२ निजी विद्यालय र ३५१ सामुदायिक विद्यालय सञ्चालित छन् ।
यसैबीच निजी विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले बिदा नदिएको र केही निजी विद्यालयले भने थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । विद्यार्थी विद्यालय आउने अवस्था नभएपछि थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको मुनलाइट एकेडेमी चन्द्रनिगाहपुरका प्राचार्य श्यामकिशोर चौधरीले बताउनुभयो ।
त्यसैगरी पछिलो एक सातादेखि सप्तरीमा बढेको चिसोका कारण तिरुहत गाउँपालिकामा आज एक जना वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिरुहत गाउँपालिका(१ निवासी अन्दाजी ६५ वर्षीया भटनीदेवी यादव रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा चिसोले कठयांग्रिएर मृत्यु भएको जनाइएको छ ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।
योसँगै सप्तरी जिल्लामा चिसोबाट मृत्यु हुनेको संख्या १६ पुगे पनि प्रहरीले भने छ जनाको हालसम्म मात्र मृत्यु भएको पुष्टि गरेको छ ।(रासस)