डा. गोविन्द केसी साधारण तारेखमा रिहा,  प्रधानन्यायाधिस माथिको आरोपबारे छानबिन गर्न आदेश

6

काठमाडौँ, २६ पौष ।
सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई बिनाधरौटी तारेखमा रिहा गरेको छ ।
अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्र विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने भनिएको छ भने प्रमाणपत्रको सम्बन्धमा न्यायपरिषद्बाट कागज झिकाउने उल्लेख छ ।
डा. शशी शर्माको मुद्दाबारे भने सर्वोच्च अदालतबाटै मिसिल झिकाएर अध्ययन गरिने आदेशमा उल्लेख छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले यो आदेश दिएको हो ।
अदालतको मानहानी मुद्दामा केसी सोमबार साँझ पक्राउ परेका थिए । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसन सुरु गरेलगत्तै अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो ।
डा. केसीले प्रहरी हिरासतभित्र पनि आफ्नो अनसन जारी राखेका थिए । उनले आफ्नो माग पूरा नहुन्जेल अनसन जारी राख्ने बताएका छन् ।
डा. केसीले आफ्नो बयानको क्रममा पनि प्रधानन्यायाधीश पराजुली भ्रष्ट भएकाले अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।