मनोज साह
जितपुर बारा, २७ पौष ।
बारा जिल्लाको कलैया उपमहानगरपालिकाको विकासलाई चाहेर पनि कसैले रोक्न नसक्ने खानेपानी तथा सरसफाई मन्त्री महेन्दं यादवले बताए ।
कलैया उपमहानगरपालिकाको प्रथम नगरसभालाई विहिवार सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले स्थानीय निकायको निर्वाचन सकिएको र जनप्रतिनिधि विहिन भएका नगर र गाउँले जनप्रतिनिधि पाइसकेको हुनाले अब चाहेर पनि कसैले विकासलाई रोक्न नसक्ने बताए । २० वर्ष देखि जनप्रतिनिधी विहिन भएका स्थानीय निकायले अब विकासमा फडको मार्ने मन्त्री यादवले दावी गरे । उपमहानगरपालिकाले प्रस्तुत गरेको ९१ करोड ३२ लाख ४६ हजारको बजेट सराहनीय भएको र यो भविष्यमा महानगरपालिका हुनसक्ने बताए ।
नगर विकासको लागि सबैको सहयोग अनिवार्य भएकोले सबैले हातेमालो गर्दै नगर क्षेत्रको विकासमा एक जुट भएर लाग्नु पर्ने धारणा राखे । २ नम्बर प्रदेश अन्तर्गत रहेको फास्टट्रयाक र अन्तराष्ट्रिय विमानस्थल यही जिल्लामा भएको कारण यसको विकास निश्चित भएको दावी गरे । फास्टट्रयाक र अन्तराष्ट्रिय विमानस्थलको निर्माण पछि कलैया २ नम्बर प्रदेशको समृद्धिको केन्द्र बन्न सक्ने दावी गरे । अहिले कलैयाबासीहरु विरगंज भएर राजधानी जाने गरेको बताउदै फास्टट्रयाकको निर्माण पछि भोलिका दिनमा विरगंजका मानिसहरु मात्र नभई भारतबाट आउने पर्यटकहरु समेत कलैया उपमहानगरपालिका भएर जाने भएकोले नगरको विकासमा आफू विश्वस्त भएको बताए । कलैयाबाट हेटौडा पुग्न जति समय लाग्छ त्यति समयमा फास्टट्रयाक भएर राजधानी पुग्न सकिने भएकोले सबैले यही नगर भएर राजधानी पुग्ने बताए ।
विकास नै लोकतन्त्रको परिसूचक भएको हुनाले विकासलाई तिव्रता दिनु पर्नेमा उनले जोड दिए । एक अर्को प्रसंगमा बोल्दै मन्त्री यादवले संविधान संस्थागत गराउने नेपाली कांग्रेसको पहिलो प्राथमिकता भएको बताए । मधेश र मधेशीको चाहना अनुसार संविधान संशोधन गराउने आफनो पार्टीको लक्ष्य रहेको बताउदै संविधान संशोधन गराएर देशमा आर्थिक क्रान्ति ल्याउने लक्ष्य कांग्रेसले लिएको धारणा राखे । नेपाल विकासमा पछि परेकोले यसको विकास गाउँ देखि नै शुरु गरिएको बताए । फास्ट ट्रयाक र अन्तराष्ट्रिय विमानस्थलको निर्माण हुने वितिकै कलैया नगरपालिकाले विकासमा ठूलो फड्को मार्ने आफूले विश्वास लिएको मन्त्री यादवले बताए । देशलाई निकास दिनको लागि नै दलहरुको चुनौतीलाई चिर्दै २० वर्ष पछि स्थानीय निकायको निर्वाचन आफनो पार्टीको सरकारले गराउन सफल भएको बताए । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सकिए पछि देश अब गणतन्त्रको बाटोमा अगाडी बढिसकेकोले देश विकासलाई चाहेर पनि कसैले रोक्न नसक्ने दावी गरे । कलैया उपमहानगरपालिकामा सिसिटिभी जडान, स्र्माट सिटिको आवधारणा, स्वास्थ्य विमा, नगरक्षेत्र भित्र यातायातको गुरु योजना लगायतको योजना कलैया उपमहानगरपालिकाको अधिकृत नारायण पाण्डेले प्रस्तुत गरेका थिए ।