कहाँ गायब भए सिलवाल ?

14

काठमाडौं, २७ पुस ।
हिन्दी भाषामा एउटा उखान छ ‘जो तलवार के सहारे जितेहै वो तलवार से ही मरते हैं’ ठ्याक यो उखान अहिले पूर्व डिआइजी नवराज सिलवाल माथि लागु भएको छ । किर्ते जालसाजीको अभियोगमा उनले थुप्रै डाक्टर, इन्जिनीयर र पाइलट समेतलाई पक्राउ गरेर कानुनको कठघरामा उभ्याएको भए तापनि अहिले आफै किर्ते जालसाजीको चक्करमा फसेर फरार भएका छन् । सिलवाल मलेशिया कार्यक्रममा गएको उनका अनुचरहरु हल्ला गरेको भए तापनि त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा उनी बहिर गएको रेकर्ड फेला परेको छैन । यसैबीच ललितपुर प्रहरीले उनलाई फेला पार्न नसकेको जवाफ प्रहरी प्रधान कार्यालयलाई पठाएको छ । सर्वोच्च अदालतमा सिलवालले पेश गरेको कासमु मुल्यांकन फारम किर्ते गरी पेश गरेको अभियोगमा उनको खोजी भइरहेको वर्तमान परिवेशमा उनी गायब छन् । सर्वोच्च अदालतले उनको हकमा फैसला नगरेपछि रातारात नेकपा एमालेको लागि ज्यान फालेर लडिरहेका योद्धाहरुको टिकट खोसेर प्रहरी सेवाबाट राजीनामा दिई नवराज सिलवाल ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लडी बिजयी भए । अहिले भुपु डिआइजी नवराज सिलवाललाई उनकै सहगोत्रीहरुले खोज्दा उनी गायब भएको घटना नेपालको परिवेशमा नौलो भएतापनि यसमा केही शंका उत्पन्न भएको छ । आम निर्वाचन पछि बामपन्थीहरु खास गरी नेकपा एमाले र माओवादी केन्द्रले बहुमत प्राप्त गरेपछि यो संकट सिलवालमाथि कसरी आईलाग्यो यसको बारेमा पनि विभिन्न किसिमको तर्क–कुतर्क गर्न थालिएको छ । प्रहरीको जात जसको सरकार उसको भात भन्ने हो । डा. गोबिन्द केसीलाई गिरफ्तार गर्ने योजनामा नेपाल प्रहरी दुई बित्ता उफ्रेर मुलुकको प्रधानमन्त्रीलाई जानकारी नै नगराई मेडिकल माफिया नजिक रहेको बामगठबन्धनका नेताहरुलाई खुसी पार्न डा. केसीलाई सुर्यास्तपछि गिरफ्तार गर्न पुगेको कसैसंग लुकेको छैन । यसर्थ यो सिलवाल प्रकरणमा पनि समग्र नेकपा एमाले दोषी देखिएको र उसकै डिजाइन अनुरुप काम भइरहेको एकथरीले चर्चा गरीरहेका छन् ।