जाडोको कारण जनजिवन कष्टकर बन्दै

16

मनोज साह
जितपुर बारा, २७ पौष ।
करिब दुई साता यता देखि लगातारको शितलहरले बारा जिल्ला लगायत मध्य तराई मधेसको जनजिवन थप कष्टकर बन्दै गएको छ । विहिवार पनि विहान देखि चलेको शितलहरले मानिसहरुलाई हिडडुल गर्न समेत समस्या भएको छ । बाक्लो हुस्सुको कारण सवारी साधनहरुलाई आवत जावत गर्नमा समेत समस्या भएको हो । जाडोबाट बच्नका लागि आगो बालेर ताप्ने गरिएको छ । सितलहरसँगै बढ्दै गएको चिसोका कारण बृद्ध बृद्धा तथा बाल बालिकाहरुको स्वास्थ्यमा विभिन्न प्रकार समस्याहरु देखिरहेको स्थानीय चन्देश्वरप्रसाद साहले बताए ।
त्यसैगरी सम्भावित दुर्घटनाबाट बाँच्नको लागि ट्राफिक प्रहरीले गाडीको बत्ती बालेर आवत जावत गर्नको लागि आग्रह गरेको छ । साथै चिसोका कारण विद्यालयका पढाई पनि प्रभावित भएको छ । विद्यालय खुले पनि विद्यार्थीहरुको संख्या न्यून रहेको स्थानीय विद्यालयका सञ्चालकहरुले जानकारी गराएका छन् । चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ । चिसोबाट बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा परेको बाराको सिमरा स्थित तराई सिमरा अस्पतालका प्रमुख एवम् डा.रबिन्द्र सिंहले बताएका छन् । शितलहरसँगै चलेको हावाले झन् हुस्सु र चिसो बढाएको छ । चिसोका कारण बाराको सदरमुकाम कलैयामा आउँने जाने सर्वसाधारणहरुमा कमी आएको देखिन्छ । बाक्लो हुस्सुसँगै परेको शितलहरका कारण सदरमुकाम कलैयामा रहेका विभिन्न सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको उपस्थिति पातलिदै गएको देखिन्छ । टाँढाबाट आउँने सेवाग्राहीहरु जाडोको कारण आउँन नसकेकोले दैनिक जसोको तुलनामा अहिले उपस्थिति पातलिदै गएको हो । शितलहर चलेसँगै मध्य तराईमा बढेको चिसोले बर्सेनी सयौं जना बालबालिका देखि बृद्धबुद्धाहरुको मृत्यु हुँने गरेको छ । चिसोको कारण घरपालुवा जनावरहरुलाई समेत समस्या परेको देखिन्छ ।