बढ्दो शितलहर र जाडोको कारण सात जनाको मृत्यु

32

बिजय चौहान
वीरगन्ज,२७ पुस ।
तीन साता देखिको शितलहर र बढ्दो जाडोको कारण पर्सा जिल्लामा आधा दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पुस महिनाको सुरु देखि नै परेको शिलहरको कारण तापक्रम झर्दै गएपछि चिसो सहन नसकी कठ्याङग्रीएर दुई दिनमै पर्सामा ७ जनाको मुत्यु भएको हो ।
दिनभरी लाग्ने शितलहर र पश्चिमी हावाको कारण दिनको अधिकतम तापक्रम १४ देखी १६ डिग्री र रातीको तापक्रम २ देखि ४ डिग्रीमा झरेपछि न्यानो कपडा तथा चिसो हावाबाट जोगाउने छानाको अभावका बिच जिल्लाको ग्रामिण भेगमा जिवन यापन गर्दै आएका गरिब तथा दलितहरुको कठ्याङग्रीएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिराभवानी गाउँपालिका–१ महादेवपट्टी पकडी टोला निवासी कमल खवास थारु, शम्भु महरा चमार, पर्साको छिपहरमाई गाउँपालिका ४ तुल्सीवर्वा निवासी हरणी राउत, राजदेव साह कानु , तेतरी देवी, सखुवा प्रसौनी गाउँपालिका–६ निवासी नन्दु साह लगायत ७ जनाको चिसोले मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसै विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसंग बुझ्दा उहाँले दुई दिन भित्र चिसोको कारण ७ जनाको मृत्य भएको खबर सुनिएपनि यसको अधिकारीक तथ्याँक प्रहरीले हालसम्म जिल्ला प्रशासन कार्यालयमा उपलब्ध नगराएको जानकारी दिनुभयो । चिसोका कारण मृत्यु भएको नामावली उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको बताउदै सह प्रजिअ पौडेलले नामावली प्राप्त भए लगत्तै पिडित परिवारलाई राहत तथा अन्य सहयोग स्थानिय प्रशासनले तत्कालै उपलब्ध गराउने जानकारी दिनुभयो ।
शितलहरबाट ज्यान जोगाउन पर्सा जिल्लाको विभिन्न गाउँपालिका तथा नगरपालिकामा जिल्ला दैवि प्रकोप उद्धार समिति पर्साको पहलमा एक हजार २०२ थान कम्बल वितरण गरिएको सह प्रजिअ पौडेलले जानकारी दिनुभयो । उहाँले महिनाको सुरु देखिनै चिसो बढेको देखेपछि गरिब तथा असहायको ज्यान रक्षाकालागि नेपाल रेडक्रस पर्सा, आरआर ऐन लगायका संगठनसंग मिलि कम्बल वितरण थालिएको बताउनु भयो ।
बढदो चिसोबाट थप ज्यानको क्षती हुन नदिन जिल्ला दैवि प्रकोप उद्धार समितिले आवश्यक स्थानमा राहत वितरण कार्यक्रमलाई थप प्रभावकारी बनाउने सह प्रजिअ पौडेलले प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले हाल देखिएको विपदबाट पिडित रहेकाहरुको सरकार एक्लै मद्दत गर्न नसक्ने भएकाले गरिब, असहायको ज्यान जोगाउन नागरिक समाज, गैरसरकारी संघ संस्था, उद्योगपति, व्यापारी सबैलाई राहत कार्यमा सहयोग गर्न आग्रह गर्नु भयो ।
पर्सा जिल्लामा रहेको गरिब, दलित तथा असहाय बस्ने वस्तीमा न्यानो कपडा वितरण गरी मानवताको रक्षामा मद्दत पुर्‍याउन स्थानिय प्रशासनले सबैलाई आग्रह गरेको छ ।