प्रदेश नं. २ को राजधानी वीरगंजलाई नबनाइएकोमा  सरकारी वाहनमा तोडफोड, आज वीरगंज बन्द

7

वीरगन्ज,३ माघ ।
प्रादेशिक राजधानीको माग गर्दै आन्दोलनमा उत्रीएकाहरुले वीरगन्जको घण्टाघर चोकमा सरकारी वाहनलाई तोडफोड गरेका छन् ।
२ नं. प्रदेशको अस्थायी राजधानी जनकपुर तोकिएको सरकारी निर्णयको विरोध गर्दै घण्टाघरमा प्रर्दशन गर्ने क्रममा आन्दोलनकारीहरुले ना १ झ २६३ नम्बरको सरकारी वाहनलाई बुधबार बेलुका तोडफोड गरेका हुन ।
वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै विगत दुई साता देखि आन्दोलनमा उत्रीएका आन्दोलकारीहरुले सरकारले अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोध गर्दै घण्टाघर चोकमा टायर बाली प्रदर्शन गर्ने क्रममा जिल्ला सिचाई कार्यालयको वाहनलाई आन्दोलनकारीले तोडफोड गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कुमार कर्णले जानकारी दिनुभयो । उहाँले राजधानीको माग गर्दै आन्दोलनकारीहरुले अहिले वीरगन्जको घण्टाघर चोकमा टायर बाली प्रदर्शन गरेको र सडक अवरुद्ध गरेको बताउनु भयो ।
नेपाल सरकारले वीरगन्जलाई प्रादेशिक राजधानी नतोकेको विरोधमा वीरगन्ज राजधानी संर्घष समिति पर्साले भोली माघ ४ गते बिहिबार एक दिनका लागि वीरगन्ज बन्दको आह्वान गरेको संर्घष समितिका संयोजक सुरेन्द्र चौधरीले जानकारी दिनुभयो । उहाँले अतिआवश्यक वाहन र सेवा वाहेक सबैलाई संचालनमा रोक लगाइएको जानकारी दिनु भएको छ ।