राजधानीको माग गर्दै वीरगन्ज बन्द, वीरगन्जलाई राजधानी घोषणा नगरे अनिश्चितकालित बन्द गर्ने चेतावनी

10

 वीरगन्ज,४ माघ ।
जनकपुरलाई प्रान्तको अस्थायी राजधानी तोकिएको विरोधमा र प्रादेशिक राजधानी वीरगन्जको माग राख्दै आज वीरगन्ज बजार बन्द भएको छ । वीरगन्ज राजधानी संर्घष समितिको आह्वानमा बजार, यातायत,उद्योग, वितिय संस्था, विद्यलाय सबै बन्द भएका छन् । बन्दलाई सफल बनाउन विहानै देखी आन्दोलनकारीहरु वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, नगवा, इनर्वा लगायतका चोकमा टायरबाली प्रदर्शन गरि रहेका छन् ।
बन्दको कारण सर्वजनिक तथा निजी यातायात, बजार, उद्योग वितिय संस्था, विद्यलाय बन्द गराएपछि यसको प्रभाव सर्वसाधारणको दैनिकिमा परेको छ ।
२ नं. प्रदेशको अस्थायी राजधानी जनकपुर तोकिएको विरोधमा संघर्ष समितिले आजको एक दिने वीरगन्ज बन्द आह्वान गरेको हो ।
संर्घष समितिले आह्वान गरेको बन्दको कारण वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि संचालन हुने लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन संचालन हुन नसकेपछि वीरगन्जको बसपार्कमा सयकडौ यात्री अल्पत्र परेका छन् ।
बन्द अवज्ञा गरेको भन्दै वीरगन्जको घण्टाघर चोकमा आन्दोलनकारीले आधादर्जन सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । आन्दोलनकारीले २ वटा कार र ४ वटा तीन पाङ्ग्रे ई–रिक्सामा तोडफोड गरेको प्रहरीको भनाइरहेको छ ।
एम्बुलेन्स, बारुणन्त्र, पर्यटक सवार वाहन, संचार माध्यमका सवारी साधन, मोटरसाईकल, साईकल बाहेका सबै सवारी साधन संचालनमा रोक लगाइएको वीरगन्ज राजधानी संर्घष समितिका सहसंयोजक राजकुमार गुप्ताले जानकारी दिनु भएको छ । उहाँले जनकपुरको तुलनमा सुविधा सम्पन्न रहेको वीरगन्जलाई प्रान्तिय राजधानी घोषणा नगरे सम्म आन्दोलनलाई जारी राखिने दावी गर्नु भयो ।
राजधानीकालागि उपयुक्त पुर्वाधार रहेको वीरगन्जमा राजधानी नतोकिए संर्घषका कार्यक्रमलाई सशक्त बनाउदै लैजाने जानकारी दिदै सहसंयोजक गुप्ताले एक दिने बन्द चेतावनीको रुपमा रहेको र मागलाई सम्बोधन नगरे यो बन्दलाई अनिश्चितकालिन गर्ने चेतावनी दिनुभयो । उहाँले वीरन्जलाई राजधानी बनाउने पक्षमा २ नं. प्रदेशको ८ जिल्ला मध्ये बारा, पर्सा,रौतहट, सर्लाही रहेपनि केही व्यक्तिकै लागी जनकपुरलाई प्रादेशिक राजधानी बनाउन खोजिएको आरोप लगाउनु भयो ।
बन्दको क्रममा आन्दोलनकारीबाट हुन सकिने जनधनको क्षतीलाई रोक्न वीरगन्जको चोक चोरकमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिनु भएको छ ।