प्रथम प्रदेश अधिवेशन: प्रदेश नं २ लाई नमूनाका रुपमा प्रवद्र्धन गर्न आह्वान

26

जनकपुरधाम, २१ माघ  :
प्रदेश नं २ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा प्रदेशसभा सदस्यले प्रदेशलाई नमूनाका रूपमा प्रवद्र्धन गर्नका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।
प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले आज बैठक प्रारम्भ गर्दै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट प्राप्त पहिलो अधिवेशनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएपछि प्रदेशसभा सदस्यले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे ।
छलफलमा भाग लिँदै संघीय समाजवादी फोरम नेपालका लालबाबु राउतले संविधान संशोधनमा जोड दिँदै प्रदेशमा चुनौती अधिक भएपनि उपलब्ध स्रोत साधनलाई अवसरका रूपमा लिइ सदुपयोग गरेमा प्रदेश नं २ नमूना बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
वीरगञ्जवासीको आकांक्षा, मनोभावना र सम्मानका लागि सबैलाई आग्रह गर्दै उहाँले प्रदेशमा अधिवेशन हुनुले परिवर्तनको आभाष र सुशासन कायम गर्ने अवसर प्राप्त भएको धारणा राख्नुभयो । राष्ट्रिय जनता पार्टीका जीतेन्द्र सोनारले मधेशी जनताका लागि ६५ वर्षपछि आजको दिन ऐतिहासिक र स्वर्णीम दिन भएको प्रशंग उल्लेख गर्दै प्रदेशलाई सभ्य र व्यवस्थित गर्ने दायित्व सबैमा आएको छ भन्नुभयो ।
प्रदेशका पाँच जिल्लामा खानेपानीको अभाव रहेको छ भन्दै उहाँले भन्नुभयो, ँप्रदेशमा विकासका अपार सम्भावना भएकाले चुनौतीलाई स्वीकार गर्दै अघि बढ्नु जरूरी भएको बताउनुभयो ।
नेकपा (एमाले)का सत्यनारायण मण्डलले प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सभ्यता र संस्कृतिको केन्द्र भएको चर्चा गर्दै प्रदेशमा व्याप्त, अशिक्षा तथा युवाशक्ति पलायनजस्ता समस्या समाधानमा सबैको ध्यान जानु आवश्यक भएकाले प्रदेश सरकारलाई एमालेले रचनात्मक सहयोग गर्नेछ भन्नुभयो ।
सोही दलका शत्रुघन महतोले प्रदेशमा पर्यटनको विकास, उर्वरभूमिको उचित प्रयोगका लागि सिँचाइको व्यवस्थातर्फ ध्यानाकर्षण गराउँदै विकासका मुद्दामा सबै एकजुट हुन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका रामसरोज यादवले संविधान संशोधन, कृषि व्यवस्थापन, चुरे संरक्षण, सुनकोशी कमला डाइभर्सन, सिँचाइ आयोजना कार्यान्वयन आदिमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का भरतकुमार साहले प्रदेशको उर्वरभूमिको सदुपयोग तथा विपन्न वर्गको उत्थानमा ऐक्यबद्धताको आवश्यकता छ भन्नुभयो ।
नेपाल संघीय समाजवादी पार्टीका सावित्री देवी साहले मधेशीको अधिकारप्राप्तिको यात्रामा सबैको सहयोगको खाँचो औँल्याउनुभयो । स्वतन्त्र सदस्य शेख अब्दुल कलाम आजादले विकासको मुद्दामा द्वन्द्व गर्न नहुने विचार व्यक्त गर्नुभयो ।(रासस)