ट्रकको ठक्करबाट बिरगंजमा एक महिलाको मृत्यु

20

वीरगंज, २२ माघ । वीरगञ्जको बाइपास सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।श्रीपुरस्थित नेशनल ट्रेडिङतर्फ जाँदै गरेको अगरवत्ती लोड भएको ना ६ ख ४९०८ नम्बरको ट्रकले दिउँसो पौने १२ बजे ठक्कर दिँदा स्थानीय ४० बर्षिया बविता चौधरीको मृत्यु भएको हो ।ट्रकको ठक्करबाट गम्भीर घाइते चौधरीको उपचारका लागि नारायणी उप क्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए ।ट्रक चालकले ब्याक गरेर चौधरीलाई मारेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । ‘चालकको लापरबाही देखिएको छ । तर पछाडि हटाएर मारिएको भन्ने सत्य होइन’ डिएसपी लिम्बुले भने ‘सहचालकसहित केही पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान गर्दैछौं । केही समस्या भए प्रहरी कार्यालय आउन स्थानीयलाई भनेका छौं ।’