अदालतद्वारा रोक्का गरिएको सार्वजनिक जग्गामा नक्सा पास, दुई दिनदेखि महानगरपालिकामा धाउँदा मेयरले भेट नगरेको स्थानीय बासीको आरोप

24

वीरगन्ज,२९ माघ ।
सार्वजनिक जग्गामा व्यक्तिलाई घर बनाउन वीरगन्ज महानगरपालिकाका कर्मचारीले नक्सापास गरेको तथ्य खुलासा भएको छ । वीरगन्ज महानगरपालिकाको वडा नं. १६ नगवाका बासिन्दाहरु सोमबार महानगरपालिकाको कार्यालयमा पुगी सडकको जग्गामा घर बनाउन नक्सापास गर्ने कार्यको विरोध गरेपछि सार्वजनिक जग्गामा व्यक्तिलाई घर बनाउन नक्सा पास भएको तथ्य प्रकासमा आएको हो । स्थानीय तहको निर्वाचनताका भोट माग्न जांदा संघीय समाजवादी फोरम नेपालका तर्फबाट उम्मेदवार बनेका बिजयकुमार सरावगीलाई त्यसबखत यो समस्याको बारेमा हामीले जानकारी गराएको वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने शिचन्द्र रायले जानकारी गराएको अंकुशलाई बताए । संयोगले वहाँ नै मेयरमा निर्वाचित हुनुभयो र गराउनेले अवैध कार्य उहाँकै पालामा गराए ।
नगवाको इनरबाइपास र बाइपास जोडने सडकको सार्वजनिक जग्गामा स्थानिय शिवराउत अहिरलाई घर बनाउन नक्सापास भएको जानकारी स्थानियलाई भएपछि अदालत समेतले जग्गालाई सार्वजनिक कायम गरेपछि कसरी नक्सापास भएको वारे बुझ्न महानगरपालिकाको कार्यालयमा हुल बाँधेर वडाबासीहरु पुगेका थिए ।
महानगरपालिकाका कार्यकारी अधिकृत गोपाल घिमिरेलाई भेटी नगवाबासिले सार्वजनिक जग्गाको नक्सापास वारे जिज्ञासा राख्दा उहाँले नक्सा पासमा संलग्न रहेका सबै कर्मचारीलाई झिकाई सर्वसाधारणकै अगाडी सोध्दा कर्मचारीहरुले एक स्वरमा शिवराउत अहिरले झुक्याएर नक्सा पास गराएको जानकारी दिएर उम्किन खोजेका छन् । कार्यकारी अधिकृतकै अगाडी नक्सा फाँटका प्रमुख उमाकान्त झा र योजना शाखाका प्रमुख राजेश चौरसियाले नगरपालिकाका अमिन नरबहादुर बुढाथोकीको गल्तीका कारण अहिरले झुक्याएर नक्सापास गराउन सफल भएको बताएर आ–आफ्नो दुनो सोझ्याएका छन् । योजना र नक्सा फाँटका प्रमुखले दिएको जानकारीलाई लिखित रुपमा मांग गर्दै कार्यकारी अधिकृतले पासभएको नक्सालाई बदर गर्न प्रकृया अगाडी बढाउन कर्मचारीहरुलाई निर्देशन दिदै यस प्रकरणलाई सहज बनाउन स्थानियलाई जग्गाको व्यहोरा र अदालतको आदेश वारे जानकारी खुलाई निवेदन दिन आग्रह गरेको बताइएको छ ।
कार्यालय पुगेका सर्वसाधारलाई सम्बोधन गदै कार्यकारी अधिकृत घिमिरेले नक्सापास प्रकरणमा संलग्न रहेका कर्मचारी माथि छानविन गरी कार्यवाही अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेपछि सर्वसाधारण कार्यालयबाट हिडेका थिए ।
महानगरपालिकाको योजना शाखा र नक्सा फाँटका कर्मचारीहरुले रकमकै भरमा २०७३ साल पुस १२ गते पर्सा जिल्ला अदालतले सार्वजनिक कायम गरेको जग्गामा घर बनाउनका लागि व्यक्तिको नाममा नक्सापास गरेको स्थानियले आरोप लगाएका छन् । पर्सा जिल्ला अदालतका तत्कालिन माननिय न्यायाधिश रामकृष्ण श्रेष्ठको एकल इजलासले २०४८ सालदेखि नै उक्त जग्गा सार्वजनिक भोगचलन भएको भन्दै सार्वजनिक कायम गरेको र यसवारे महानगरपालिकाको योजना शाखा र नक्सा फाँटका सबै कर्मचारीलाई जानकारी भएपनि पैसाको चलखेलमा अदालतको आदेश समेतलाई लत्याउदै सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने कर्मचारीहरुले षडयन्त्र गरेको अंकुशसंगको कुराकानीमा नगवाबासिले बताएका छन् ।
योजना शाखाका प्रमुख राजेश चौरसिया, नक्सा फाँटका प्रमुख उमाकान्त झा, नक्साफाँटका कर्मचारी, रमेशहरी शर्मा र अमिन नरबहादुर बुढाथोकीले सार्वजनिक जग्गालाई व्यक्तिको नाममा गरिदिन खोजेको र यसमा वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसिया समतेको मिलोमतो रहेको नगवावासिको आरोप रहेको छ । नक्सा पासकालागि वडा अध्यक्ष चौरसिया समेतले सिफारिस गरेको बताउदै स्थानियले दर्जनौ पटक पंचायतिमा बसेका चौरसियालाई जग्गा सार्वजनिक भएको जानकारी हुदा हुदै कसरी सिफारिसमा हस्ताक्षर गरे भनी नगवावासिले प्रतिप्रश्न गरेका छन् ।
यस विषयमा वडा अध्यक्ष चौरसियाले आफुलाई जानकारी नै नदिइ झुक्याएर नक्सापासको फार्ममा सिफारिस गराएको प्रतिक्रिया दिएर आफु बाठो बन्न खोजेका छन् ।
शिवराउत अहिरको नाममा रहेको किता नं. १८४२ संगैको सार्वजनिक सकडको जग्गामा एडिवि परियोजनाको निर्माण हुदा अहिरले अदालतमा जग्गामाथि दावि गर्दै मुद्दा दिएका थिए । अहिरको मुद्दामाथि सुनुवाई गर्दै अदालतले जग्गा सार्वजनिक भएको आदेश दिएको थियो ।
सार्वजनिक जग्गामा अहिरले गर्दै आएको निर्माण कार्यलाई रोक्न महानगरपालिकाले वडा प्रहरी कार्यालय विर्ता, जिल्ला प्रहरी कार्यालय पर्सालाई सोमबार नै पत्राचार गरेको छ । यो समग्र प्रकरणमा मेयर बिजयकुमार सरावगी अवगत हुंदा हुंदै पनि दुई दिनदेखि महानगरपालिकाको कार्यालयमा धाईरहेको नगरवासीहरुसंग भेट्न मानेनन् । आईतबार कुरा गर्दै उनले सोमबार १ बजे कुरा गर्ने जानकारी दिएपछि नगवाका शिवचन्द्र राय सहितका व्यक्तिहरु १२ बजे कार्यालय पुगेका थिए । तर मेयर सरावगी उनीहरु ४ बजेसम्म कुर्दा कार्यालयमा नआएको शिवचन्द्रले अंकुशलाई बताए ।