स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

3

काठमाडौँ, ११ जेठ – नेपालका आफ्नै प्रविधिको अभावमा त्यसखालको समस्या भोग्नुपरेको भन्दै सूचना प्रविधिको क्षेत्रमा अब्बल विश्वप्रसिद्ध अमेरिकन कम्पनी जेब्राको सहयोगमा मालिका इन्कर्पोरेट कम्पनीले सवारी साधानको अनुमतिपत्र लिने प्रक्रियालाई सहज बनाउने प्रविधि नेपालमा भित्र्याएको छ ।

सूचना प्रविधिलाई अधिकतम प्रयोग गरेर स्वास्थ्य, शिक्षा, बैंक तथा वित्तीय संस्था, राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा अग्रेणी सेवा पु¥याउने लक्ष्य राखिएको छ ।

स्मार्ट सवारी साधन अनुमतिपत्रको प्रतीक्षामा रहेका ११ लाख सवारी धनीलाई तीन महिनाभित्रै नेपालमा नै उपलब्ध गराउन सकिने मालिका इन्कर्पोरेट कम्पनीका अध्यक्ष टीकाराम जोशीले जानकारी दिनुभयो ।

माइक्रोप्रोसेसर चिप्स जडित त्यस्ता स्मार्ट कार्डमा व्यक्तिगत विवरण राख्न सकिनेछ । व्यक्तिगत विवरण, औँलाको छापलाई लामो समयसम्म राख्न सकिनेछ । सवारी साधन अनुमतिपत्रलाई उपयोगी र गुणस्तरीय बनाउन यसलाई दुवैतर्फबाट ‘लेमिनेड’ प्रविधिको सुविधा दिइने र त्यसबाट अनुमतिपत्र च्यातिने, खुइलिनबाट जोगाउन सकिने अध्यक्ष जोशीको भनाइ छ ।

यस्तो प्रविधिले ट्राफिक प्रहरीले सहजै अनुमतिपत्रको अध्ययन गर्ने, जरिवानाका लागि बिल काट्ने प्रविधि पनि उपयोगमा ल्याउन सकिनेछ ।

यस्तै निर्वाचन आयोगले वितरण गर्ने मतदाता परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिनेछ भने राष्ट्रिय परिचयपत्रसमेत नेपालभित्रै छाप्न सकिने मालिका इन्कर्पोरेटले जनाएको छ ।

यस्तै विद्यार्थी परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिने सो कम्पनीले जनाएको छ । विद्यार्थी विद्यालय गए वा गएनन्, कति समय विद्यालयमा बसेजस्ता सामान्य सूचनासमेत मोबाइल एप्लिकेशनमार्फत अभिभावकलाई जानकारी दिन सकिनेछ ।

आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले प्रविधिको सही प्रयोग गरेर मानव जीवनलाई थप सहज र सरल बनाउन सकिने बताउनुभयो ।

वर्तमान सरकारले डिजिटल नेपाल बनाउने अभियान शुरु गरेको भन्दै उहाँले यस्ता प्रविधिले त्यसमा साथ दिने र नेपालको विकासमा महत्वपूर्ण आधार खडा गर्ने बताउनुभयो ।

नेता शर्माले एक्काइसौँ शताब्दी प्रविधिको युग भएकाले नेपालले पनि त्यसलाई प्रभावकारी रूपमा अवलम्बन गर्नुपर्ने र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सकिनेमा जोड दिनुभयो । (रासस)