जिनेदिन जिदानले प्रशिक्षकको पद छोडे

3

म्याड्रिड (एजेन्सी) –स्पेनिस क्लब रियल म्याड्रिडका व्यवस्थापक जिनेदिन जिदानले पदबाट राजीनामा दिएका छन्।

बिहिबार आकस्मिक पत्रकार सम्मेलन गरेर जिदानले राजीनामा घोषणा गरेका हुन्। रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि चुमेको साता दिन नबित्दै जिदानले राजीनामा दिएका हुन्। तीन सिजनमा तीनै च्याम्पियन्स लिगको उपाधि जितेका रियलका प्रशिक्षक जिनेदिन जिदानले पद छोडेका छन् ।

जिदानकै व्यवस्थापनमा रियल म्याड्रिड च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको थियो। यसअघि कुनै पनि क्लब लगातार दुई पटक पनि यो उपाधि जित्न सकेका थिएनन्।

जिदानको सो निर्णयबाट रियलका प्रशंसक र फुटबल विश्लेषकहरु समेत आश्चर्यचकित परेका छन् । जिदानले सिजनको अन्त्यमा क्लब छोड्ने हल्ला बजारमा बारम्बर आए पनि जिदानले आफुले भने यसबारे केही बोलेका थिएनन् ।

” मैले निर्णय गरेको छु कि अर्को सिजन म रियलसँग रहंदिनँ । मैले क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग आफ्ना कुराहरु राखेको थिएँ । सबै मेरो निर्णयबाट आश्चर्य पर्नु भयो होला तर यो नै मेरो लागि सही निर्णय हो,” जिदानले भने ।उनले रियलका लागि १ सय ४९ खेल सम्हाल्दै १ सय ५ मा जित दर्ता गर्न सफल रहे। ३ च्याम्पियन्स लिग साथै जिदान २०१६-१७ मा लिगको उपाधि पनि जित्न सफल भएका थिए ।