मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम

3

वीरगन्ज, २ पुष ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मा सोमबार जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न भएको छ । वडावासिको समस्या र गुनासो तथा रायसुझाव र बुझ्नको लागी वीरगन्जको मुर्लीमा सोमबार बिहान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख बिजय कुमार सरावगी समक्ष वडाका अगुवा, विभिन्न दलका प्रतिनिधि र स्थानियहरुले महानगरपालिकाको विभिन्न समस्या तथा गुनासोहरु राखेका थिए । कार्यक्रममा वडामा रहेको नेशनल ट्रेडि·को उत्तरतर्फ रहेको सडकमा लाग्ने गरेको जाम, सडकको समस्या, वडा समितिको आफ्नै भवन लगायतका समस्याहरुको बारेमा ध्यानाकर्षण गराएका थिए ।
वडा सदस्य हकहित संरक्षण मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले वीरगन्जको मुर्ली चौक देखि आयल निगमसम्मको बाटो चौडा गरि निर्माण गर्ने कार्य सहमतिमा पुगी सकेको बताउनु भयो । नगर प्रमुख सरावगीले आगामी १ जनवरीदेखि वीरगन्जलाई हर्न निषेधीत क्षेत्र घोषणा गरिएको बताउदै अब धर्मको नाउमा ध्वनी प्रदुषण फैलाउनेलाई कडा भन्दा कडा दण्डित गर्ने बताउनु भयो । वडा सदस्य रमेश साह कानुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष रामदरश कुशवाहाले गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुखका सल्लाहकार मुकेश द्विवेदी, प्रेस सल्लाहकार गोबिन्द देवकोटा, वडा सदस्य सुराती देवी, एमालेका नेता शम्भु गुप्ता लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन सुरज कुमार कुर्मीले गरेका थिए ।