प्रहरी र विद्यार्थी बीच झडप आधादर्जन विद्यार्थी र पाँच प्रहरी घाइते

17

संतोष रन्जितकार
वीरगंज, ११ पुस ।
वीरगञ्जमा बुधबार प्रदर्शनमा उत्रेका विद्यार्थी र प्रहरी बिच झडप हुँदा आधादर्जन विद्यार्थी र पाँच जना प्रहरी घाइते भएका छन् । प्रधानाध्यापकको सरुवाबाट असन्तुष्ट माईस्थान विद्यापिठ माविका विद्यार्थी बुधबार वीरगञ्जनमा प्रदर्शनको क्रममा तोडफोड र प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि झडप भएको हो ।
झडपको क्रममा प्रहरीको लाठी चार्जबाट आधादर्जन विद्यार्थी घाइते भएका छन् भने विद्यार्थीको ढुंगा प्रहारबाट पाँच जना प्रहरी पनि घाइते भएका छन् । झडपमा माइस्थान विधापिठ माविको कक्षा १० मा अध्ययनरत सोनु सिंह, रोहित चौरसीया, नितेश यादव र राहुल सिंह र अन्य २ विद्यार्थीहरु रहेको छन । यता प्रहरी जवान मुकेश यादव लगायत ४ प्रहरीहरु घाइते भएका हुन् । उनीहरु सबैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
वीरगन्ज महानगरपालिकाले प्रधानाध्यापक विनोद मेहताको पूर्वाग्रही ढंगले सरुवा गरेको आरोप लगाउँदै गत शुक्रबारदेखि सडक प्रदर्शनमा उत्रिएका माईस्थान विद्यापिठ माविका विद्यार्थीले बुधबार पनि बिहान साढे ८ बजे देखि नै सडकमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
लठ्ठी र फाठा बोकर विद्यालय पोशाकमै सडकमा उत्रिएका विद्यार्थीले बिहान आफ्नै विद्यालयको गेटमा समेत तोडफोड गरेका थिए । त्यसपछि महानगरपालिकाको कार्यालयमा जाने क्रममा प्रहरीले बाटोमै रोकेपछि प्रदर्शनकारी विद्यार्थीले हरिखेतान बहुमुखी क्याम्पसमा पुगेर तोडफोड गर्ने प्रयास गर्दा प्रहरीले रोक्ने क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।