प्रजिअ भट्टराईको पहलमा विभिन्न कार्यालयका सूचना अधिकृत र पत्रकारहरु बीच छलफल

13

वीरगंज, ७ माघ ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको पहलमा सरकारी कार्यालयका सूचना अधिकृतहरु र पत्रकार बीच सोमबार छलफल भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सो छलफलमा तत्काल दिनुपर्ने सूचना सूचना अधिकृतले विभिन्न बहाना गरेर नदिने गरेको गुनासो पत्रकारहरुले प्रजिअ समक्ष राखेका थिए । केही सूचना अधिकृतहरुसंग कार्यालयका सूचना नै नहुने र बोर्ड मात्रै झुण्डिने तर सूचना अधिकृत नभेटिने गुनासाहरु पनि उठेको थियो । केही सूचना अधिकारीहरु आफुले कार्यालयको अन्य कार्यहरु पनि सम्पादन गर्नुको साथै सूचना अधिकृतको पनि जिम्मेवारी पनि बहन गर्नुपरेको बताउनु भयो । सो छलफल कार्यक्रममा प्रजिअ भट्टराईले पर्सामा आएपछि विकास निर्माणका कामहरु कुन रुपमा अगाडी बढिरहेको र आफ्नो कार्यालयले त्यस सम्बन्धि गरिरहेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । उनले त्यहा“ उपस्थित सम्पूर्ण सूचना अधिकृतहरुलाई पत्रकारहरुले खोजेको सूचना सकेसम्म छिटो उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । हरेक महिना पत्रकार र विभिन्न कार्यालयका सूचना अधिकृतहरुसंग छलफल गरेर पारदर्शी तवरमा जिल्लाका गतिविधिहरु जनसमक्ष ल्याउन आफ्नो पहल हुने प्रजिअ भट्टराईले बताउनु भयो ।
छलफलमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जारा लगायत जिल्लाका सरकारी कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।