नियम विपरित संरचना भत्काएकोमा टोलबासीद्वारा विरोध

11

संतोष रन्जितकार
वीरगंज, ९ माघ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा बुधबार वीरगंज महानगरपालिका वडा नं. १२ का टोलबासीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सो सम्मेलनमा वडा नं. १२ मा नन्दु साहको घरदेखि उत्तर, पूर्व छठ हुने पोखरीको डिलसम्म निर्माण गरिएको संरचनाहरु हटाउने भनी वडा कार्यालयले गरेको निर्णय बमोजिम सबैलाई सूचित गरिएको थियो । उक्त सूचना प्रक्रियागत नियमपूर्वक नभई चुनावी प्रतिसोध भावनाले यो कदम चालिएको त्यहाँका टोलबासीहरुले पत्रकार सम्मेलनमा बताएका थिए ।
वडा कार्यालयले कुनै निर्माणको कार्य गर्नुभन्दा पहिले सो वडाका विभिन्न पार्टी प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, भद्रभलादमी, टोलसुुधार समिति, क्लबहरु तथा नागरिक समाजलाई जानकारी तथा बैठक बसी छलफल गर्नुपर्दछ । सो नगरेको तथा सडक फराकिलो गर्न सबैको घरटहरा एकसमान भत्काउनु पर्नेमा कसैको बढी कसैको कम भत्काएको कारण टोलबासीहरुले यो निर्माणको कार्य नभई प्रतिसोधको कार्य भइरहेको दावी गरेका थिए । विकासको काममा हामी अवरोध गरेको होइन हामी पनि चाहन्छौ कि विकास होस् तर वडा नं. १२ का वडा अध्यक्ष रामदरश महतो कोइरीले चुनावी रिस, भेदभाव र प्रतिशोधको भावनाबाट जनतालाई मर्का पर्ने गरी यो कदम चालिएको उनीहरुले सम्मेलनमा जानकारी गराएका थिए ।
टोलबासीहरुले मुल सडक नसमाति एकै चोटी बिचमा नै हाम फालेको प्रति ध्यानाकर्षण गराउनको लागि ७० जना व्यक्तिहरुको सनाखत गराई निवेदन पत्र वीरगंज महानगरपालिकाका मिति २०७५/१०/४ गते दर्ता गराएको तथा दर्ता नं. १०९०१ रहेको सो निवेदन पत्रमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भूषालले सहरी पूर्वाधार महाशाखाको नाममा तोक लगाएपनि केही सुनुवाई नगरी मिति २०७५/१०/७ गतेमा एक्कासी डोजर लगाई कही २१.६ फिट कही १० फिट, कही १५ फिट, कही २४ फिटको हिसाबले निर्माण गरिएको संरचना एकरुपता नगरेर सरासरी अन्यायपूर्ण तरिकाले भत्काइएको भनी उनीहरुले बताए ।
टोलबासीहरुले एकरुपता र मापदण्ड अनुसारको कार्य होस् भनी न्यायको लागि हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सम्बन्धित निकायले केही वास्ता नगरेकोले उनीहरुले बताए । उनीहरुले सम्बन्धित निकायले न्याय नदिएको खण्डमा न्यायको लागि हामी अदालतसम्म पुग्ने जानकारी गराएका थिए । सो सम्मेलनमा वडा नं. १२ का जयलाल प्रसाद साह, मउन प्रसाद साह, नारायण बहादुर केसी, एसान अंसारी, राजेश प्रसाद साह, अरबिन्द गुप्ता, संतोष कुमार कर्ण लगायत टोलबासीहरुको सहभागिता रहेको थियो ।
सो संरचना भत्काउने कार्यमा वडा अध्यक्ष लगायत वडा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।