केराउ नियन्त्रणमा लिएको विरोधमा व्यापारीहरुद्वारा टायरबाली प्रदर्शन समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीद्वारा दुव्र्यवहार

18

संतोष रन्जितकार
वीरगन्ज, १० माघ ।
वीरगन्जको रामगढवास्थित सरिना इन्टरप्राइजेजबाट पर्साको विन्दवासिनी गाउँपालिका ४ को संदीप सप्लायर्सले खरिद गरेको २५ टन केराउ ना४ख १२२ नम्बरको ट्रक तिलावे पुल हुँदै अमरपट्टी नाकाबाट भारत तिर तस्करी गर्न लागेको भन्दै बुधबार राति बेलुका करिब ९ बजेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरले तिलावे पुलबाट सो ट्रकलाई नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक चक्रबहादुर मल्लको नेतृत्वमा रहेको टोलीले केराउसहित ट्रक, चालक र सहचालकलाई समेत नियन्त्रणमा लिएको हो ।
केराउ सहितको ट्रक छुटाउन भन्दै प्रहरीलाई दवाव दिन तिलावे पुलमा केराउको कारोबार गर्दै आएका विन्दवासिनी गाउँपालिकाका उतम तिवारी लगायतका व्यपारीहरुले पर्सा प्रहरीले बिलविजक भएको केराउसहित ट्रक पक्राउ गरेको भन्दै टायर बालेर चक्काजाम गर्दै प्रदर्शन गरेका थिए । व्यापारीहरुले तिलावेपुलमा टायर बाली सडक अवरोध सहित प्रदर्शन गरिरहेका बेला प्रहरी र व्यापारीबीच झडप भएको थियो । सो झडपमा प्रहरीले लाठीचार्ज गरी ७ जना प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ । प्रहरीले व्यापारी रंजन तिवारी, निरञ्जन तिवारी, शंकरपुकार तिवारी, सोनालाल साह, रवि गुप्ता, दामोदर तिवारी, सन्तोष गुप्ता र नवलकिशोर साहलाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेकोे प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए ।
यसैविच झडपको फोटो तथा भिडियो खिच्ने पत्रकारहरुसँग पनि प्रहरीले अपशब्द प्रयोग गरी दुर्वव्यवहार गर्दै क्यामेरा समेत फुटाएको छ । प्रहरीले पत्रकार माथि लाठि प्रहार गर्दा पत्रकारहरु जनता टिभीका पर्सा संवाददाता, श्याम कुशवाहा, प्राइम टिभीका संवाददाता आरवन साह, स्थानीय एनपी डेलीका दीपक चौरसिया, उमेश दुवेमाथि पनि प्रहरीले लाठी प्रहार गरेको थियो । सो लाठी प्रहारमा ति पत्रकारहरुलाई सामान्य चोट लाग्नुका साथै उनीहरुले बोकेको क्यामेरामा समेत क्षति पुगेको छ । सो सम्बन्धमा दोषी प्रहरीलाई कारवाही गर्न मांग गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारहरुले घटनाको छानविन गरी भोलि बिहान १० बजेसम्म दोषी प्रहरीलाई कारवाही गर्न मांग गरेका छन् । सो समयभित्र दोषी प्रहरीलाई कारवाही नगरिए मध्यान्ह १२ बजेदेखि जिल्ला प्रहरी कार्यालयमै पत्रकारले धर्ना दिने नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले बताउनुभयो । टोलिमा नेपाल पत्रकार महासंघ प्रदेश न. २ का उपाध्यक्ष केसि लामिछाने, पर्साका अध्यक्ष श्याम बन्जारा, ध्रुव साह, लगायत २ दर्जन भन्दा बढी पर्सेली पत्रकारहरुको सहभागिता रहेको थियो ।