सडक दुर्घटनामा सशस्त्रका एसपीको मृत्यु प्रजिअ घाइते

16

बारा, १२ माघ ।
बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी दुर्घटना भएको छ । बाराको निजगढस्थित हिरालाल पार्कको कार्यक्रम सकाएर फर्किरहेको अवस्थामा कलैयाबाट निजगढ जाने क्रममा महेन्द्र राजमार्गको पसाहा पुल नजिक ट्रयाक्टरसँग प्रजिअ चढेको गाडी ठोक्किएर दुर्घटना भएको हो । बाराका प्रजिअ र सशस्त्रका एसपी बलराम पोखरेल चढेको बा. १ झ. १६३३ नम्बरको गाडी दुर्घटना भएको हो ।
सो दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको छ भने प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । त्यस्तै बाराका प्रजिअ भट्टराईको अवस्था चिन्ताजनक रहेको छ भने अन्य ३ जनाको समेत घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईको उपचार बारामा सम्भव नभएपछि उनलाई उपचारका लागि वीरगञ्ज गण्डकस्थित वीरगंज हेल्थ केयर अस्पतालमा ल्याइएको छ । दुर्घटनामा परी मृत्यु भएको एसपीको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ भने प्रजिअलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।