गायत्री अश्वमेध महायज्ञको अध्यक्ष उपेन्द्र महतोलाई बनाइएकोमा सर्वत्र विरोध

14

वीरगन्ज १३ माघ ।
गैरआवासीय नेपाली संघका पूर्व–अध्यक्ष उपेन्द्र महतोलाई हुन गइरहेको गायत्री महायज्ञको अध्यक्ष बनाइएकोमा व्यापक विरोध हुन थालेको छ । विवादास्पद चरित्रका उपेन्द्र महतोलाई यस्ता पवित्र कार्यको अध्यक्ष बनाइएकोमा सत्तापक्ष मात्र नभई प्रतिपक्ष र नागरिक समाजका अगुवाहरुले समेत विरोध जनाएका छन् । वीरगंज बासीहरुको समर्पण र योगदानले हुन गइरहेको यो महायज्ञमा नाफा मात्र लिने र करसंग कुनै सरोकार नराख्ने करछलीका अभियुक्त समेत रहेका उपेन्द्र महतोलाई वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले के उद्देश्य राखेर गायत्री अश्वमेध महायज्ञको अध्यक्ष बनाएका हुन् त्यसको जवाफको खोजी हुन थालेको छ । हामीले केही प्रमुख जिम्मेवार व्यक्तिहरुको प्रतिक्रिया आदरणीय पाठकबृन्द समक्ष प्रस्तुत गरेका छौ ।

प्रदिप यादव
सांसद पर्सा क्षेत्र नं. १
यज्ञ सम्बन्धि सबै काम सकेर मेयर साहबले मलाई पनि छलफल गर्न काठमाण्डौंमा बोलाएका थिए । धर्म र आस्था सम्बन्धि जोडिएको यो महायज्ञ जब वीरगंजमा भइरहेको छ यसको नेतृत्व यहीको मान्छेले लिनुपर्ने थियो । यहाँ पनि घरानिया प्रतिष्ठित व्यापारीहरु नभएका होइनन् । मेयर बिजय सरावगी नै अध्यक्ष भएर यो महायज्ञलाई सफल बनाए हुन्थ्यो । यदी वहाँलाई अप्ठ्यारो भएको भए वीरगंजकै कोही गन्यमान्य व्यक्तिलाई यो महायज्ञको अध्यक्ष बनाएर अगाडी बढ्न सकिन्थ्यो ।

ओमप्रकाश शर्मा
प्रदेश सभासद एवं अध्यक्ष वीरगंज उद्योग वाणिज्य संघ
तिन चार वर्षदेखि वीरगंजमा गायत्री महायज्ञ गर्नको लागि बिजय सरावगी लागि परेका थिए ।
यो महायज्ञमा वीरगंजमा हुने भएकोले यहीको व्यक्तिले यसको नेतृत्व लिनुपर्ने हुन्छ । यो महायज्ञ सफल बनाउनको निम्ति पैसा दिने वीरगंजका मान्छे, खट्ने यहाँका मान्छे र अध्यक्ष अन्तको मान्छेलाई बनाउँदा त्यो न्यायसंगत हुदैन । यो महायज्ञको सन्दर्भमा मसंग बिजय सरावगीको खासै यो विषयमा कुरा भएको छैन तर उनले उपसंयोजक भनेर मलाई राखेका छन् । यो यज्ञको सन्दर्भमा नागरिक समाजबीच खुलेर छलफल भएको छैन ।

ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुवे
प्राचिन समयमा अश्वमेध यज्ञ चक्रवर्ती सम्राटहरुले गराउने गर्दथे । अब त्यो समय रहेन । सम्पुर्ण मुलुक प्रजातान्त्रिक परिवेशमा प्रवेश गरेको छ । अहिले को वर्तमान परिवेशमा घोडा छोड्ने अवस्था छैन तर अश्वमेध यज्ञ नामक शब्दको गायत्री परिवारले चिरहरण गरिरहेको छ । हाम्रो ब्राह्मण समाजमा पनि यो सन्दर्भमा व्यापक चर्चा–परिचर्चा शुरु भएको छ । अश्वमेध नाम नराखी कुनै अर्कै यज्ञ गर्न सकिन्छ । हाम्रो मान्यता अनुसार यो अश्वमेध यज्ञ नभएको पंडित दुवेले दावी गर्नुभयो । यो महायज्ञलाई कुनै अर्को नाम दिएर अशोक बैध, ओमप्रकाश सिकारिया, माधव राजपाल र उद्योग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष गोपाल केडियालाई पनि यो महायज्ञको अध्यक्ष बनाउन सकिन्थ्यो । तर उपेन्द्र महतो जस्तो विवादास्पद व्यक्तिलाई यस महायज्ञको अध्यक्ष बनाएकोमा हाम्रो चित्त बुझेको छैन ।

संतोष पटेल
अध्यक्ष हिन्दु परिषद नेपाल
विवादास्पद र करछली जस्तो अभियोगमा विवादित व्यक्तिलाई गायत्री अश्वमेध जस्तो पावन कार्यको लागि अध्यक्ष बनाइनु गलत कार्य भएको हिन्दु परिषद नेपालका अध्यक्ष संतोष पटेलले बताउनु भएको छ । उनले वीरगंजको मान प्रतिष्ठा बढाउन आयोजना गर्न लागिएको यो महायज्ञको अध्यक्ष बिजय सरावगी आफै बनेको भए हुन्थ्यो ।