घाइते प्रजिअलाई काठमाण्डौं लगियो

13

संतोष रन्जितकार
वीरगंज, १३ माघ ।
सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमूख जिल्ला अधिकारी गणेश भट्टराईलाई मेडिकल टिमसहित हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
बारामा शनिबार भएको सवारी दुर्घटनामा घाइते भई चिन्ताजनक अवस्थामा वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत प्रजिअ भट्टराईको स्वास्थ्यमा सुधार नआएपछि मेडिकल टीमसहित उनलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको हो । उनीसँगै दुर्घटनामा परी गम्भीर घाइते भएका सशस्त्र प्रहरी बल बाराको १२ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखेरलेको भने उपचारका लागि ल्याउँदै गर्दा शनिबार साँझ नै मृत्यु भएको थियो ।
कर्मचारी मिलन केन्द्र बाराले निजगढको हिरालाल भ्यु टावरमा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी भई सर्लाहीमा आफन्तको विवाहमा पनि सहभागी भई फर्किने क्रममा प्रमूख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारी चढेको गाडी दुर्घटनामा परेको थियो । प्रमूख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप शनिबार बाराको पसाहा खोला नजिकै सडकमा रोकी राखेको ट्रयाक्टरको टेलरसँग ठोक्किएर दुर्घटना भएको थियो । ट्रयाक्टरको टेलरमा ठोक्किएको स्कार्पियो गाडीको अगाडिको भाग क्षतिग्रस्त भएको छ । चालकसँगैको अगाडि सिटमा बसेका सशस्त्र प्रहरी उपरीक्षक पोखरेललाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो ।
दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा प्रहरी उपरीक्षकका सुरक्षागार्ड सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रमुख जिल्ला अधिकारी भट्टराईका सुरक्षा गार्ड शम्भु गुरुङ र चालक जगत पटेल रहेका छन् । प्रमूख जिल्ला अधिकारी भट्टराईको वीरगंजमा उपचार सम्भव नभई वहाँको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकोले मेडिकल टीमसहित उनलाई हेलिकप्टबाट काठमाण्डौं पठाइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
दुर्घटनामा परेका चालक र प्रमूख जिल्ला अधिकारीका सुरक्षा गार्ड शम्भु गुरुड्ढो भने कुम भाँचिएको छ । उनीहरुको पनि वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन् ।