सशस्त्र प्रहरीद्वारा तस्करीको कपडा बरामद

12

संतोष रन्जितकार
वीरगंज, १३ माघ ।
प्रहरीले धान बोकेको ट्रयाक्टरबाट ठूलो मात्रामा अवैध कपडा बरामद गरेको छ । आइतबार सशस्त्र प्रहरी पर्साको ग्रामिण भेगबाट धान बोकेर सदरमुकाम स्थित चामल उद्योगमा आउँदै गरेको ट्रयाक्टरबाट कपडा बरामद गरेको हो ।
पर्साको छिपहरमाई गाँउपालिका–१ मिर्जापुरबाट धान लिएर वीरगन्ज अलौंको चामल उद्योगमा आउँदै गरेको ना २ त १६४८ नम्बरको ट्रयाक्टरबाट प्रहरीले भारतबाट नेपालमा राजश्व छलेर ल्याइएको करिब ४० लाख रुपैयाँ मुल्य बराबरको कपडा बरामद गरेको थियो ।
ट्रयाक्टरमा रहेको ९० बोरा धानभित्र लुकाएर राखिएको अवस्थामा सुटपिस कपडा ५० बण्डल (अन्दाजी ६ हजार मिटर), कुर्ता सुरुवाल ८० थान र सर्ट पाइन्टको कपडा ७२ सेट बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाहले बताए । वीरगन्ज पोखरीया सडकखण्ड अन्तर्गत अलौं र एकीकृत भन्सार जाँच चौकी (आइसीपी) मध्यभागको सडकमा ट्रयाक्टर रोकेर चेकजाँच गर्दा धानको बोराको तल लुकाएर राखिएको अवस्थामा कपडा भेटिएको थियो ।
कपडा सहित ट्रयाक्टर र त्यसका चालक छिपहरमाई गाँउपालिका–१ मिर्जापुर निवासी सोनालाल साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक शाहले जानकारी दिए । पक्राउ परेका ट्रयाक्टर चालक साहले मिर्जापुर कै पन्नालाल साह भन्ने व्याक्तिले धान, वीरगन्जको अलौमा रहेको चामल उद्योगमा पु¥याइदिन भनेकाले आफुले ९० बोरा धान ट्रयाक्टरमा हालेर आएको बयान दिएको सशस्त्र प्रहरी उपरिक्षक शाहले बताए । पक्राउ गरिएको ट्रैक्टर चालक साहलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ भने बरामद गरिएको कपडा सहितको ट्रैक्टरलाई भन्सार कर्यालय वीरगंज पर्सामा बुझाइएको थियो ।