एक दिनको सफाईबाट मात्र नभई यसलाई निरन्तरता दिनुपर्छ ः मुख्यमन्त्री गद्दी

4

संतोष रन्जितकार
वीरगंज, १४ माघ ।
प्रदेश नं. २ को मुख्यमन्त्री स्वच्छता अभियान सोमबार वीरगंजबाट सुभारम्भ भएको छ । वीरगंजको घण्टाघरमा आयोजित सरसफाई जागरण महाअभियान कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बैलून उडाएर अभियानको सुभारम्भ गरेका हुन् । अभियानको सुभारम्भ गर्दै मुख्यमन्त्री गद्दीले एक दिनको सफाईबाट मात्र वीरगंज सफा नहुने बताउँदै यसलाई निरन्तरता दिनु पर्ने बताए । सरसफाई नियमित गर्नु पर्नेमा जोड दिदै उनले हामीले आफ्नो टोल समाजबाटैै सरसफाई शुरु गरे मात्रै यो अभियान सफल हुने बताए ।
मुख्यमन्त्री गद्दीले फागुन ५ गते वीरगंजबाट नै प्रदेश सरकारको ‘बेटी पढाउ बेटी बचाउ अभियान’ को शुभारम्भ गरिने समेत बताए । बेटी पढाउ बेटी बचाउ अभियानको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने मुख्यमन्त्री गद्दीले जानकारी गराए ।
मुख्यमन्त्री स्वच्छता अभियान प्रदेश नं. २ का संयोजक सलाउदिन अहमदले स्वस्थ्य नागरिकको परिकल्पनालाई सकार गर्दै प्रदेशलाई समृद्ध बनाउन मुख्य मन्त्री स्वच्छता अभियान संचालन गर्न लागिएको बताए ।
मुख्यमन्त्री स्वच्छता अभियान, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, प्रदेश सांसद जन्नत अंसारी, सिंघासन साह कलवार, करिमा बेगम, प्रदेश सचिव हरि फँुयाल, पूर्व सांसद रामचन्द्र साह, अजय द्विवेदी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा लगायतको सहभागिता रहेको थियो ।
घण्टाघरबाट अभियानको शुभारम्भ गर्दै वीरगंज नगरक्षेत्रमा समेत सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, द हेल्पेज नेपाल, विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।