नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुतला दहन

7

संतोष रन्जितकार
वीरगंज, १४ माघ ।
नेविसंघ पर्साले प्रहरी हस्तक्षेपका बावजुद सोमबार वीरगंजमा प्रधानमन्त्री के.पी. ओलीको पुतला दहन गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजबाट निस्केको नेविसंघको सरकार विरुद्धको विरोध जुलुस प्रहरी हस्तक्षेपका बावजुद पनि आदर्शनगर चौकमा पुगी प्रधानमन्त्री ओलीको पुतला दहन गरेको थियो ।
के.पी. ओली मुर्दाबाद, माफिया सरकार मुर्दाबाद, निकम्मा सरकार मुर्दाबाद, केपी ओली तेरो पाराले दुःख पायो साराले लगायतको नारा लगाउदै क्याम्पसबाट नेविसंघको बिरोध जुलुस निस्केको थियो । बाक्लो संख्यामा रहेको प्रहरीले बिरोध जुलुसमा हस्तक्षेप गर्दा विद्यार्थी र प्रहरी बिच झडप समेत भएको थियो ।
सरकारले बहुमतले पारित गरेको चिकित्सा शिक्षा विधेयक, बढदै गएको भ्रष्टचार, बलात्कारको घटना, सुन काण्डको विरोधमा विरोध जुलुश प्रर्दशन गरिएको नेविसंघ पर्साका अध्यक्ष विश्वास द्विवेदीले बताए । नेविसंघको पूर्व घोषित भएको विरोधको कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल, बद्रिनाथ तिवारी लगायतको सहभागिता रहेको थियो ।