मुख्यमन्त्री लालबाबु राउत गद्दीद्वारा शहिद पार्कको शिलान्यास नियम विपरित भएको भन्दै नगरप्रमुख र प्रजिअद्वारा कार्यक्रम बहिष्कार

15

वीरगन्ज, १६ माघ ।
अन्ततः सधै नियम कानूनको वकालत गर्दै हिड्ने प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफै कानून विपरित काम गरेर देश दुनिया समक्ष असली चरित्र प्रस्तुत गरेका छन् । सधै प्रधानमन्त्री के.पी.शर्मा ओलीको खेदो खनेर चर्चा बटुल्न सफल हुंदै आएका मुख्यमन्त्री लालबाबु राउत अहिले आफै नैतिक संकटको सामना गरिरहेका छन् । उनले वीरगंजमा वीरगंज महानगरपालिकाको अधिनमा रहेको जग्गामा त्यस कार्यालयले विमति जनाउँदै गरेको अवस्थामा शहिद पार्कको शिलान्यास बुधबार गर्न भ्याए ।


उनी शिलान्यास गर्न आएको त्यो कार्यक्रममा उनकै पार्टीको टिकटबाट निर्वाचित भएका वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगी सहभागी बन्न सकेनन् । त्यसैगरी पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई पनि कानून र नियम विपरित भइरहेको सो कार्यक्रममा उपस्थित हुन अप्ठ्यारो भएकोले उनले पनि आफ्नो सहभागिता जनाएनन् । तर सो कार्यक्रममा ठुला–ठुला डिंग हाक्ने काम भयो । महामानव वि.पी. कोइरालालाई नचिन्ने मुख्यमन्त्रीका सहयोगीहरु उनको मञ्चमा भाषण गर्न भ्याए । स्वयं मुख्यमन्त्रीले आफ्नो भाषणको दरम्यान शहिदको कुनै जात हुंदैन भन्दा भन्दै शहिदहरुप्रति रेखांकन गर्ने काम उनको मञ्चबाट भयो । उच्च शिक्षाको अभावमा बुझ्दै नबुझी तर जनताको मत पाएर सम्मानित ठाउँमा पुगेका मुख्यमन्त्रीका दलका नेताहरुबाट अनेक किसिमका विरोधाभास कुराहरु जनता माझ पस्किए पनि अन्तिम वक्ताको रुपमा कानूनको ज्ञाता समेत रहेका मुख्यमन्त्री राउतबाट त्यसको खण्डन भएन ।
सो अवसरमा मुख्यमन्त्री गद्दीले शहीदको बलिदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र तीन तहको सरकारलगायतका उपलब्धि हासिल भएको धारणा व्यक्त गर्नुभयो । उहाँले शहीदको बलिदानलाई सम्मान गर्दै वीरगञ्जमा निर्माण हुन लागेको शहीद पार्कमा जति रकम लागेपनि प्रदेश सरकारले ब्यहोर्न तयार रहेको बताउनुभयो ।
भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलले शहीदको बलिदानलाई उच्च सम्मान गर्दै उहाँहरूको सम्झनामा प्रदेशको तीन स्थानमा शहीद पार्क निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले वीरगञ्जको घन्टाघर नजिकै रहेको बिपी उद्यान तथा सप्तरीको मलेठ र भारदहमा पार्क निर्माण गर्ने सरकारले निर्णय गरेको बताउनुभयो ।
शहरी विकास तथा भवन कार्यालयका निर्देशक सरोज गोइतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू प्रदीप यादव, प्रह्लाद गिरी, राजपाका महासचिव शिव पटेललगायतका वक्ताले जनताको अधिकारका लागि बलिदानी दिने शहीदको सम्मानमा पार्क निर्माण गरी प्रदेश सरकारले सराहनीय कार्य गरेको धारणा व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री प्रमुख अतिथि रहेको सो कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर सरावगीले सो कार्यक्रम बहिष्कार गर्दै प्रदेश सरकारले स्थानीय तहको मानमर्दन गरेको आरोप लगाउनु भएको छ । संघीय सरकारको परियोजना अन्तर्गत सो जग्गामा गुरुयोजना बनाएर नक्सा समेत तयार भई १ सय २५ करोडको लागतमा सुविधा सम्पन्न पार्क र अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने सहमतिलाई भाँडेर प्रदेश सरकारले जर्बजस्ती गरेको आरोप लगाइदै छ । संघीय सरकारले दिएको पैसा उचित काममा खर्च समेत गर्न नसक्ने प्रदेश सरकार दिनप्रतिदिन आलोचित बन्दै गइरहेको अवस्था विद्यमान छ ।