विषयगत समितिको सभापति निर्वाचन हुने

5

धनुषा, १७ माघ (रासस)ः
प्रदेश नं २ को बिहिबार बसेको प्रदेशसभा बैठकले प्रदेश नं २ संसद्का विषयगत समितिका सभापति निर्वाचन माघ २६ गते गर्ने निर्णय गरेको छ ।
संसद् बैठकमा सभामुख सरोज यादवले सो जानकारी गराउनुभयो । बैठकले संसदीय विशेष अनुगमन समिति २०७५ का सदस्य रमेशप्रसाद कुर्मीको ठाउँमा प्रदेशसभा सदस्य विन्देश्वरप्रसाद यादवलाई चयन गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश दूग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७५ पेश गर्नुभयो । पेश गरिएको उक्त विधेयक बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको थियो । प्रदेश नं २ संसद्को अर्को बैठक माघ २१ गते सोमबार दिनको ११ बजे बस्ने छ ।
काङ्ग्रेसको अवरोध
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रदेश नं २ प्रदेशसभाको बैठक अवरुद्ध गरेको थियो । बैठकमा राजधानी र राजधानीको नामाकरण लगायतका विषयमा काङ्ग्रेसले विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो ।
काङ्ग्रेसका प्रदेशसभा सांसद शिवचन्द्र चौधरी लगायतले सरकारको काम कर्तव्यमाथि प्रश्न तेस्र्याउँदै गर्दा काङ्ग्रेसका सबै सांसदले उहाँलाई साथ दिँदै उठेर विरोध जनाएपछि बैठक केही बेर अवरुद्ध भएको थियो । प्रदेशसभा सदस्य चौधरीले सरकारले राजधानी, भाषा र नामकरणको कुनै चासो नदिएको भन्दै सरकारको विरोध गर्नुभएको थियो ।