विद्यार्थी र प्रहरी बीच झडप नेविसंघका दुई नेता घाइते

10

संतोष रन्जितकार
वीरगंज, १८ माघ ।
नेवि संघ पर्साले शुक्रबार वीरगंजमा गरेको प्रदर्शनको क्रममा दुई जना विद्यार्थी नेता घाइते भएका छन । प्रधानमन्धी के.पी. ओलीको पुतला जलाउने क्रममा विद्यार्थी र प्रहरी बीच भएको झडपमा परी विद्यार्थी नेता विकेश पटेल र रंजन चौरसिया घाइते भएका हुन ।
ठाकुर राम बहुमुखी क्याम्पसबाट निस्केको विरोध जुलुश आदर्शनगरमा पुगी प्रधानमन्त्री ओलीको पुतला जलाउन खोज्दा प्रहरीले गरेको हस्तक्षेपका कारण पुतलाको आगोले विद्यार्थी नेता पटेलको मुखको भाग जलेको नेवि संघका केन्द्रिय सदस्य बद्रीनाथ तिवारीले बताए ।
त्यसैगरी प्रहरीकै झडपमा परेर विद्यार्थी नेता रंजन चौरसिया पनि घाइते हुनु भएको छ । प्रहरीले सो पुतला दहन कार्यक्रमको हस्तक्षेप गर्दै नेविसंघका विद्यार्थी तथा विद्यार्थी नेताहरुलाई कुटपिट गर्दा सो कुटपिटमा परी विद्यार्थी नेता रंजन चौरसिया घाइते भएका थिए ।
घाइते भएका पटेल र चौरसियाको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचार भइरहेको केन्द्रिय सदस्य तिवारीले जानकारी दिए ।
नेवि संघका नेता विश्वास द्विवेदीको नेतृत्वमा भएको विरोध प्रदर्शन तथा पुतला दहन कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल लगायत विद्यार्थी तथा विद्यार्थी नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेविसंघको पूर्व घोषित केन्द्रिय बिरोधको कार्यक्रम अन्तर्गत वीरगंजमा प्रधानमन्त्रीको पुतला दहन कार्यक्रम गरिएको थियो ।
पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामशरण महतले वीरगंज स्थित नारायणी उप–क्षेत्रिय अस्पताल पुगेर सो पुतला दहन कार्यक्रममा घाइते भएका विद्यार्थी नेताहरुको अवस्थाको बारेमा जानकारी लिनु भएको थियो । र सो घटनाको निन्दा समेत गर्नु भएको थियो ।