संतोष रन्जितकार
वीरगंज, २० माघ ।
पर्सा प्रहरीले लागुऔषध सहित आइतबार ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. ११, रानिघाट निवासी बर्ष ५५ का रामबालक प्रसाद बिन, वडा नं. १२ मुर्ली निवासी बर्ष ४५ का शम्भुलाल मियाँ र हेटौडा उपमहानगरपालिका वडा नं. १, भैराडाँडा निवासी बर्ष १८ का इर्शाक ढुंगाना रहेका छन । पर्सा प्रहरीले बिनलाई लागुऔषध चरेश सहित, मियाँ र ढुंगानालाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले रानिघाट निवासी बिनलाई ११ किलो लागुऔषध चरेश सहित निजको घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक अनन्त शर्माले बताए । विशेष सुचनाको आधारमा शनिबार राति ९ः३० बजे निजको घर खनतलासी गर्दा घरको आँगनमा बासले छोपी लुकाई छिपाई राखिएको अवस्थामा लागुऔषध चरेश फेला पारी निजलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता समेत रहेका नायब उपरिक्षक शर्माले बताए ।
त्यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले वीरगंज १६, रजतजयन्ती चोकबाट भारत रक्सौलबाट वीरगंज तर्फ आइरहेका मुर्ली निवासी मियाँलाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरिएको उनले बताए । नायब उपरिक्षक शर्माका अनुसार शनिबार राती ७ बजेको करिबमा चेकजाँच गर्ने क्रममा निजको साथबाट नाइट्रोभेट ट्याब्लेट ३४५ पिस, डाइजेपाम ३ पिस, फेनारगन ३ पिस र नुर्फिन ३ पिस फेला परेकोले निज मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको हो । त्यसैगरी शनिबार दिउसो प्रहरी चौकी बसपार्क वीरगंजबाट खटिएको प्रहरी टोलीले वीरगन्ज १५ बाईपास स्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुलाई समेत चेकजांच गर्ने क्रममा भारतको रक्सौलबाट उत्तर बीरगंज तर्फ पैदल हिडी आइरहेका ढुंगानालाई लागु औषध ट्याब्लेट सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजको साथबाट नाइट्रोभेट ट्याब्लेट १० पत्ता (१५०) पिस फेला परेको नायब उपरिक्षक शर्माले जानकारी गराए ।