हतियारसहित एक पक्राउ

7

संतोष रन्जितकार
वीरगंज, २० माघ ।
पर्साको पटेर्वासुगौली गाउँपालिका–४ बाट ३७ वर्षीय अर्जुन राउतलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । राउतको साथबाट एयरगन बन्दुक र सोही बन्दुकमा लाग्ने छर्रा १७ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ उनलाई नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध हातहतियार तथा खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिकाले विभिन्न स्थानहरुबाट ५४ किलो पापड, साडी ५४ पिस, ११ पिस लेहंगा, ३ पिस कुर्ता सुरुवाल, ३१० पिस सेन्डो गन्जी, २७० पिस अन्डरवियर, सर्टको कपडा ८ रोल गरी अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको समान बरामद गरेको छ ।
बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।