नेपाली कांग्रेसको देशव्यापी विरोध प्रदर्शन ओलीको दिवा स्वप्न पूरा हुंदैन ः नेता रिजाल

13

वीरगंज, २१ माघ ।
वर्तमान सरकारले राज्यको सम्पूर्ण सयन्त्रमा कब्जा गरेर अधिनायकवाद तर्फ उन्मुख भएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले आरोप लगाउनु भएको छ । नेपाली कांग्रेसले सोमबार गरेको देशव्यापी विरोध प्रदर्शन अन्तर्गत वीरगंजमा पनि विपी उद्यानबाट नेपाली कांग्रेस पर्साको अगुवाईमा निस्किएको जुलुस वीरगंज बजारको परिक्रमा गरी घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो ।

सोही सभालाई सम्बोधन गर्दै नेता रिजालले वर्तमान सरकार दुई तिहाईका दम्भमा अदालत, मीडिया, प्रहरी प्रशासनमा कब्जा जमाएर जुन अधिनायकबाद ल्याउन खाजेको छ त्यो ओली सरकारको दिवा स्वप्न भएको भन्दै प्रजातन्त्रको रक्षा नेपाली कांग्रेसले गर्न जानेको छ र गर्छ पनि भन्नु भयो । सोही कार्यक्रममा सम्बोधन गर्दै अर्का नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले मधेशी जनताको भोट ठगेर मधेशीवादी दलहरु वर्तमान सरकारलाई सघाई रहेको आरोप लगाउनु भयो । वहाँले वर्तमान स्थितीबाट पाठ सिकेर कांग्रेस एक ढिक्का भई अगाडी बढ्नुपर्ने बताउनु भयो । नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न सो विरोध सभामा पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, प्रदेश सभासद ओमप्रकाश शर्मा, पूर्व जिविस सभापति जर्नादन सिंह क्षेत्री लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।